बैशाख २३, काठमाण्डौ
पछिल्लो तीन दिनमा हवाई मार्ग हुँदै नेपाल भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले बिहीवार (आज) राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि नेपाल भित्रिने र बाहिरिने यात्रुको चाप बढेको हो । पछिल्ला दुई दिनमा यात्रुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तेस्रो देश उडान गर्न नपाउने वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि यात्रुको आवागमनमा कमी आए पनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो । सरकारले अन्तर्राष्टिय उडान र अवतरणमा रोक लगाए पनि नेपालमा रहेका विदेशी दूतावासहरूले पनि नेपाल घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिडविरुद्धको खोप लगाएर ट्रेकिङ गर्न आएका पर्यटकले पनि कम्तीमा १० दिन होटल क्वरेण्टीनमा बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरूको चाप बढेको बताइएको छ । उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ ।



















