बैशाख ३०,
नेकपा एमालेको विवाद सहमतिउन्मुख भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीवार ४ घण्टा लामो वार्ता सकारात्मक बनेको हो । बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन सकारात्मक कुराकानी भएको बताए । क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा ओली र नेपालबीच दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो । साँझ सवा ६ बजे बैठकबाट बाहिरिने क्रममा नेता नेपालले आफूहरुले वैशाख २६ गते अगाडि सारेको पत्रका ६ बुँदे मागमा छलफल भएको बताए । ‘फागुन २८ गतेको निर्णय फिर्ता गर्ने र जेठ २ गतेको अवस्थामा फर्किनुपर्छ भन्ने हाम्रो अडान छ । छलफल जारी राख्ने कुरा भएको छ, विभिन्न तहमा कुरा हुन्छ,’ नेता नेपालले भने, ‘जेठ २ गतेको अवस्थामा फर्किने कुरा पोजेटिभ छ । मिल्ने दिशामा बढ्ने अगाडि बढेका छौं ।’नेता नेपालले सांसदहरूले राजीनामा गर्ने कुरा पनि तत्कालका लागि टरेको बताए । यसअघि ओलीको अध्यक्षतामा बिहान बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको थियो । यससँगै वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ । कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुर पक्षका कारण बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने जानकारी गराएका हुन् ।त्यस्तै नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो । माओवादी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताएका थिए ।



















