जेठ २७
नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले वर्षा केही बढ्न थालेको र आउँदो हप्तादेखि भने ठाउँ–ठाउँमा ठूलो वर्षासमेत हुने जानकारी दिनुभयो ।‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक÷दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ’, पौडेलले थप्नुभयो, ‘वर्षा बिस्तारै बढ्न थालेको छ, आउँदो हप्ता ठाउँ–ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउन सक्छ, सचेत हुन अनुरोध गर्दछु ।’ उहाँका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन । मौसमविद् गङ्गा नगरकोटी अहिले देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको बताउनुहुन्छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै ठाउँमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।




















