बुटवल असार,२३
बुटवलको हिलपार्कमा बिगबुद्ध पार्क बन्ने भएको छ । बुटवलको हिल स्टेशनका रुपमा रहेको हिलपार्कलाई विस्तार गर्दै अब बिगबुद्ध पार्क बनाउने काम सुरु भएको छ।बुटवलले बनाएको पाँच वर्षे आवधिक योजनामा हिलपार्कमा बुद्धप्रतिमा ध्यान केन्द्रसहितको पार्क निर्माण गर्ने योजनालाई पनि समावेश गरिएको थियो । योजनाअनुरुप ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको थियो । यो स्वीकृत भइसकेको छ । आयोजना स्थलमा माटो परीक्षण, सर्भे र डीपीआरका काम पूरा भइसकेका छन् । अहिले इआइएका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । बुटवल नगरको पूर्वी तथा उत्तर पहाडी भागको उचो स्थानमा लुम्बिनी परिपथसंग जोडिने गरि हिलपार्क परिसरमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निमार्ण गर्ने योजना अगाडि सारिएको थियो । उक्त योजनालाई कार्यान्वयन गर्ने क्रममा उपनगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरि अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना जारी गरेको छ ।डीपीआरलगायतका आवश्यक काम यसअघि नै पूरा भइसकेका छन् । कोभिड महामारीका कारण ढिला भएपनि अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको काम अगाडि बढेको छ ।




















