लुदअ बुटवल, १८ आश्विन
लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले सोमबार पदभार ग्रहण गरेका छन् । एक समारोहकाबीच डा. ढकालले पदभार ग्रहण गरे । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई र निवर्तमान मेसु डा. राजेन्द्र खनालले खादा ओढाएर स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै निमित्त मेसु ढकालले सरकारले घोषणा गरेको सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको निःशुल्क स्वास्थ्य अधिकारलाई परिपालना गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
उनले अस्पतालसँग भएको साधन र स्रोतलाई परिचालन गरी अस्पतालको आयस्रोत वृद्धिको व्यवस्था गरिने बताए । उनले अस्पतालमा उपलब्ध हुन नसकेको सेवाको विस्तार गरिने बताए ।




















