काठमाडौं , कार्तिक २१
प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले गर्दै आएको आन्दोलन आगामी रणनीति तय गर्न देशभरका बार इकाइसँग छलफलमा जुट्न थालेको छ।तिहार सुकिएलगत्तै जबराविरुद्ध निर्णायक आन्दोलनको घोषणा गरेको नेपाल बारले देशभरका ८३ वटै नेपाल बारका एकाइसँग भावी आन्दोलनको स्वरुप तय गर्न जुम बैठक गरिरहेको बताइएको छ ।
नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार आइतबार बार इकाइसँगको छलफलपछि नेपाल बारको बैठकले सोमबारबाट गर्ने आन्दोलनको स्वरुप तयार पार्नेछ ।
‘प्रधानन्यायाधीसको राजीनामा नआएसम्म कस्ता आन्दोलन गर्ने भनेर हामी यतिबेला जुम बैठक बसिरहेका छौँ,’ महासचिव पौडेलले भने, ‘सबैको सुझावपछि बेलुका या भोलि बिहानसम्ममा हाम्रो आन्दोलनको स्वरुप तयार हुन्छ ।’
न्यायाधीसहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरू पनि भोलि बिहानैबाट जबराविरुद्धको आनदोलनको रणनीति तय गर्न बैठक बस्दै छन् ।
तिहारअघि जबराको राजीनमा माग्दै सर्वोच्च अदालतअघि धर्ना र कोणसभा गरेको बारले भोलि सोमबार अदालत खुलेलगत्तैबाट जबराको राजीनामा नआएसम्मका लागि दवावमूलक कार्यक्रम गर्दै छ ।




















