सरकारले शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तयारी थालेको जनाएको छ । जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ अनुसार नै तयारी थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईका अनुसार सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिएको छ । पालिका र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अवस्था अध्ययन गरी विवरण सङ्कलन गर्ने, साधनस्रोतको कमी रहे÷नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने प्रतिकार्य मार्गदर्शनमा उल्लेख छ । त्यही अनुसारको तयारी थाल्न जिल्ला र पालिकालाई आग्रह गरिएको प्राधिकरणका प्रवक्ता डा.भट्टराईले बताउनुभयो । जिम्मेवार निकायको रुपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई तोकिएको छ ।अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।




















