बुटवल, पुस २४ ।
नेकपा एमालेको शुक्रबारदेखि सुरु भएका जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन आउने क्रम सुरु भएको छ । अधिवेशनले सबै जिल्लामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने गरी अगाडि बढेको छ । यस्तै लुम्बिनी प्रदेशका तीन जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । एमाले पाल्पाका पुराना नेता धनेन्द्रराज घिमिरे जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पार्टीको ९औं अधिवेशनले घिमिरेलाई अध्यक्ष बनाएको हो ।
उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा टीका थापा र सुनिता शर्मा निर्विरोध भएका छन् जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ । एमाले जिल्ला कमिटी १०५ सदस्यीय रहेको छ । यस्तै
एमाले दाङको १३ औँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा हुकुम बस्नेत सर्वसम्मत चयन भएका छन् । शनिबार बिहान सम्पन्न जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा राममणी पाण्डे, सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भएको निर्वाचन अधिकृत दामोदर बस्नेतले जानकारी दिएका छन् ।
यस्तै नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । अध्यक्षमा भुसालको बाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत भएका हुन् । भुसाल अहिले एमाले प्रदेश कमिटी सदस्य थिए ।
त्यस्तैगरी उपाध्यक्षमा इश्वरा पोखरेल, सचिवमा तोजबहादुर रायमाझी र उपसचिवमा सम्भु पोखरेल र भीम केसी सर्वसम्मत चयन भएका एमाले अर्घाखाँचीले जानकारी दिएको छ । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । आदर्श मा.वि. खनदहबाट वि.स.२०४२ सालमा अनेरास्ववियुबाट बिद्यार्थी राजनीति हुदै पार्टी राजनितीमा प्रवेश गरेका भुसाल २०५४ सालमा साविक बाँगी गाविसको
अध्यक्ष पदमा निर्वाचित भएका थिए । २४ वर्षदेखि निरन्तर जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेका उनी हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थिए ।



प्रकाशित : २०७८ पुष २४, शनिबार १७:५२















