लुदस,
कपिलवस्तुको वाणगंगामा अन्ततः तीन दलीय गठबन्धन बीच चुनावी तालमेल हुने भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको पूर्व सन्ध्यामा तीन दलीय गठबन्धन बीच चुनावी तालमेल भएको हो ।
नेकपा (एकीकृत समाजवादी) वाणगंगा नगर कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले राष्ट्रिय जनमोर्चालाई मेयर र एकीकृत समाजवादीलाई उप मेयरमा उठाउने गरि चुनावी तालमेल भएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य नारायण खनालले जानकारी दिएका छन् ।
केन्द्रीय सत्ता गठबन्धन बीचका ५ दल बीच पटक पटक वार्ता भएपनि कांग्रेसले चुनावी तालमेलका लागि अनिच्छा देखाए पछि वाणगंगामा तीन दल एक भएर चुनाव लड्ने घोषणा गरेका हुन् । वाणगंगामा कांग्रेसले एक्लै चुनाव लड्ने अनौपचारिक रुपमा बताउँदै आएपनि शनिबार औपचारिक रुपमै एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निणर्य गरेको जनाइएको छ ।
यता नेकपा (माओवादी केन्द्र)ले वाणगंगामा एक्लै चुनाव लड्ने बताउँदै आएको छ । गठबन्धनका अन्य दलसँग औपचारिक, अनौपचारिक संवाद गर्दै आएको माओवादीले शनिबार आफ्नो दल एक्लै चुनाव लड्ने गरि तयारी गरेको जनाएको छ । स्रोतका अनुसार माओवादीले आफ्नो जनमत रक्षाका लागि एक्लै चुनावमा होमिन लागेको हो ।
वाणगंगामा ०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको थियो । ११ वडा रहेको वाणगंगामा एमाले एक्लैले उप मेयरसहित ७ वडामा चुनाव जितेको थियो । एमालेको बलियो पकड मानिदै आएको वाणगंगामा ०७४ को स्थानीय तहमा कांग्रेसले मेयरसहित ३ वडामा चुनाव जित्दा माओवादी उपमेयरसहित पराजित भएको थियो ।
शनिबार भएको एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा बीच भएको चुनावी तालमेलमा समग्र वाणगंगाको विकासका लागि साझा घोषणापत्र सहित उम्मेद्वार दिने सहमति गरेका छन् । ११ वडामा ५ वडामा राष्ट्रिय जनमोर्चा, तीन, तीन वडामा एकीकृत समाजवादी र जसपाले उम्मेद्वार उठाउने छन् । बैशाख १२ गते संयुक्त रुपमा मनोनयन दर्ताको तयारी थालेका यी तीन दलले आइतबारसम्म अरु कुनै दल गठबन्धनमा सहभागी हुन चाहे संवाद गर्न सकिने निणर्य गरेका छन् ।
केन्द्रीय गठबन्धनको मर्मकै पक्षमा रहेको बताउँने तीन दलले बाध्य भएर आफुहरु चुनावी प्रक्रियामा सहभागी हुन थालेको जनाएका छन् । ठूला दलहरुको आफ्नै ढिपीका कारण चाहेर पनि गठबन्धन हुन नसकेको बताउँदै मनोनयन दर्ताको समयसम्म कुनै सहमति भए छलफल गर्न सकिने उनीहरुको भनाई छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले वाणगंगामा ५ दलीय गठबन्धन गर्नका लागि विभिन्न छलफल भएपनि त्यो निष्कर्षमा पुग्न नसकेको बताए । गठबन्धन विशेष परिस्थितिले बने पनि यसको मर्म बुझ्न कांग्रेसले नसकेको अध्यक्ष आचार्यले बताए । यद्यपि चुनाव संघर्षकै एक रुप भएकाले आफुहरु मिल्न सक्ने दलहरु बीच चुनावी तालमेल गरेको उनले जनाए ।
सम्रग वाणगंगाको विकास र समाजवादको लक्ष्य प्राप्तिका लागि आम मतादताको रोजाई तीन दलीय गठबन्धन बीचका उम्मेद्वार बन्नेमा उनले विश्वास व्यक्त गरे ।
यता एकीकृत समाजवादीले शनिबार मात्र वाणगंगामा उप मेयरसहित उम्मेद्वारी टुं्याएको छ ।
बाणगंगामा गत निर्वाचनको मत परिणाम र वर्तमान अवस्था
बाणगंगामा सत्ता साझेदार दलहरुविच तालमेलको वातावरण नभएपछी एमाले ढुक्क जस्तै देखिएको छ । बाणगंगामा सत्ता साझेदार दल नेपाली कांग्रेसले सहमतीको वातावरण तय नगरेपछी आज ३ दलिय गठबन्धन भएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अलग-अलग भएर चुनावमा होमिएका एमाले, काँग्रेस र माओवादी तथा हालका ३ दलिय गठबन्धन अलग अलग उभिएपछि यसपटकको निर्वाचन परिणाम कस्तो आउने छ सजिलै अनुमान लगाउने सकिने अवस्था छैन । विगतको निर्वाचनमा हालका नगर प्रमुख मंगल प्रसाद थारु ले निकटतम प्रतिद्वन्दी एमालेकी हालकि राष्ट्रिय सभा सांसद विमला घिमिरेलाई ४ सय ६० मतले पछि पार्दै जित दर्ता गरेका थिए ।
थारुले १५ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए भने घिमिरेले १५ हजार २ सय ७८ मत प्राप्त गरेकी थिईन् । यसैगरी तेस्रो स्थानमा आएको राष्ट्रिय जनमोर्चाले ५०५ मत प्राप्त गरेको थियो । राष्ट्रिय जनमोर्चा पार्टीका दधिराम आचार्यले ५ सय ५ , राष्ट्रिय प्रजातन्त्र पार्टीका र अन्य दल तथा विभिन्न स्वतन्त्र उमेद्वारहरुको मत समेत बाणगंगामा रहेको थियो ।
विगतको तथ्यांकलाई आधार मान्ने हो भने नेकपा एमाले र जनमोर्चा मिलेको खण्डमा मेयर हात पार्ने थियो । यसपाली नेपाली कांग्रेसले गठबन्धन जोगाउन सके जिल्लाभर कांग्रेसको अवस्था बलियो देखिन्छ यदि माओवादी केन्द्र एमाले संग मिलेमा मात्र पनी एमाले ढुक्क जस्तै देखिन्छ । सोही अनुपातमा हाल थप भएका मतदाताहरुको मत परिणाम रहने हो भने नेकपा एमालेले र कांग्रेस दुवै माओवादी र साना दल मिलाए मात्र नतिजा आफ्नो पक्षमा पार्ने देखिन्छ । त्यसका लागि राम्रै मेहनत गर्नु पर्ने देखिन्छ । तर, एमालेका लागि सवल पक्षका रुपमा गत निर्वाचनमा माओवादी तर्फ रहेका केही प्रभावशाली कार्यक्रर्ताहरु पार्टी एकिकरण भई नेकपा बनेपछि र त्यसपछिको एकता खारेजपछि उनी एमालेमै रहेका कारण साना दल राष्ट्रिय जनमोर्चा एकृकित समाजवादी र जसपा लाई नमिलाएको खण्डमा गत चुनावमा कांग्रेस र माओवादी को मात्र मिलनले देखाएको नतिजा ले यसपाली खाँसै फरक नदेखिने देखिन्छ । नेकपाबाट एमालेमै बसेका माओवादी पक्षका नेता र उनीहरुले जनस्तरमा बनाएको सम्बन्ध र उनका मतदाताहरु पनि एमालेलाई थप हुने भएका कारण एमाले कम्फर्ट जोनमा रहेको नेताहरुको दाबी छ । यसैगरी गठबन्धन दलहरुमा आन्तरिक रुपमा टिकटको विषयले मतभेद सिर्जना भएको अवस्थामा उक्त मत पनि आफूहरुलाई आउने र जित दर्ता गर्न थप सहज हुने एमालेको अनुमान छ ।
टिकटको पर्खाइमा रहेका गठबन्धन दलका नेताहरुले आफ्नो गतिविधिलाई अघि बढाए पनि सहमति अनुसार कुन दलले के उमेद्वारी पाउने विषय अझै अन्यौलमै रहेको छ । यद्यपी सहमति जस्तो सुकै बने पनि पूणर्ताका साथ लागू गरेर जाने सोच बनाएका उनीहरु आगामी निर्वाचनमा जित पक्का हुनेमा ढुक्क जस्ता देखिन्छन् । सम्पूणर् दलहरु गठबन्धन गरेर एक हुनु र एमाले भित्र असन्तुष्टि जनाई नयाँ पार्टी बनेको एकिकृत समाजवादीले मत घटाउन सहयोग पुर्याउने उनीहरुको अनुमान छ । बाणगंगामा विकसित हुँदै गरेको नयाँ शहर भएका कारण यहाँको राजनीतिक चेतना स्तर र जीवन शैलीलाई आधार मान्दा सबै कुराको निर्कियोल दलीय हिसाबले मात्रै गर्न मिल्दैन । उम्मेद्वारहरुको व्यक्तिगत सम्बन्ध र जनस्तरसम्मको सम्पर्कको आधारले पनि निर्वाचन परिणामलाई असर गर्ने निश्चित देखिन्छ ।




















