जेष्ठ ३० गते २०७९ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र पर्यटकीय प्रवेश असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गर्न लागिएको हो । तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो । अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको उहाँले बताउनुभयो । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । यो सँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी बन्द गरिने भएका छन् ।
निकुञ्जका सूचना अधिकारीको अनुसार वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो । निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आर्थिक वर्षको वैशाखसम्म ८ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो समयमा १ लाख ५९ हजार ८ सय ८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । उनीहरूमध्ये १ लाख ३६ हजार ५ सय २२ नेपाली, १० हजार ९ सय ३४ सार्क देशका र १२ हजार ४ सय २५ अन्य देशका रहेका निकुञ्जले जनाएको छ । यो अवधिमा निकुञ्जभित्र २ करोड ४१ लाख ४० हजार पटक जङ्गलमा जीप सफारी गरिएको छ । निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जङ्गल सफारी रहेको छ।




















