धुर्ब लामिछाने, सियारी ।
यो समय कृषकहरुका लागि माना रोप्ने मुरी उब्जाउने समय हो। असारमा धान रोपेर कार्तिकमा काट्ने किसानका लागि यो समय भनेको कामको चटारोको समय मानिन्छ। अहिले भने खेत खेतमा हरियै धान देख्न पाइन्छ। खेतमा धान गोड्ने किसानको चटारो छ अहिले, तर रुपन्देहीको सियारीका किसानलाई भने यो समय निकै ठूलो चिन्ताको बिषय बनेको छ।
सियारीका प्रत्येक टोलमा राति अनि दिउँसोको समयमा छाडा पशु चौपायाले कृषकका धान बाली खाएर नष्ट गरेको छ। १५ दिन पहिले देखि नै सियारीका कृषक हरुलाई छाडा पशु चौपायाले रातिको निद्रा समेत हराउने बनाएको छ। राति होस् या दिउसो गाउँका चोक चोक र खेत खेतमा छाडा चौपायाहरु रहेका छन् । कृषकहरुले जति भगाए पनि गाई गोरुहरुले धान खाए पछि यस बर्ष धान बालीमा ठुलो नोक्सानी ब्यहोर्न बाध्य हुने देखिन्छन् यस क्षेत्रका कृषकहरु।
यो समयमा धेरैको संख्यामा छोडिएको गाई, गोरुले खेतबारीमा धान काटे सरह धान खान थालेपछि यस क्षेत्रका किसानहरू थुको मर्कामा परेका हुन्। सियारीका एक स्थानीय किसानका अनुसार शनिबार रातिको करिब दुई बजे १२ जना को सङख्या आएका मानिसहरूले गाई, गोरुलाई खेतमै छोडेर फरार रहेको बताएका छन्।
सियारी गाउँ पालिका अमुवा बजार एरिया भित्रको खेतिपतिमा त दिनहुँ गाई, गोरुले धान बाली सत्यानास गरिएको देख्न सकिन्छ। अझ अहिले त झन् प्रत्येक दिन छाडा चौपायाको संख्या पनि बढ्दै गएको देख्न सकिन्छ। यसरी छाडा चौपायाले कृषकको बालीनै नष्ट हुने गरी खेतबारीमा पसेर धानको सत्यानास गरिरहेका छन्। यसरी छोडेका चौपायाले धान बाली नै सखाप बनाउने भएपछि कृषक ठूलो चिन्तामा परेका छन्।
स्रोत -बुद्ध अनलाइन टिभि




















