हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक वालकले आफ्नो ११ औँ जन्मोत्सवको अवसरमा जेहेन्दार विद्यार्थीको शैक्षिक भविष्यमा एक हौसला प्रदान गरेका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका २ राजपुर स्थित आई.एस.ए.अवार्ड प्राप्त गर्न सफल उत्कृष्ट विद्यालय ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलको कक्षा ६ मा अध्ययनरत छात्र संकल्प भुषालले आफ्नो ११औँ जन्मोत्सवको अवसरमा सोहि विद्यालयकी कक्षा ४ मा अध्ययनरत जेहेनदार छात्रा बिपिसिा जि.एम.लाई शैक्षिक सामाग्री प्रदान गरी वालअवस्थामै उदाहरणिय कार्य गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ वैरीया निवासी वालक भुसालले शैक्षिक क्रियाकलापमा योगदान गरेका हुन् । वालक भुसालले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरेको बताए । जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला वालक भुसालले गतिलो उदाहरण दिएका छन् । केक काट्ने, चकलेट बाँड्ने जस्ता कार्यमा खर्च गर्नुभन्दा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी सहयोग गर्ने इच्छा रहेकाले उक्त कार्य गरेको विद्यार्थी भुषालले बताए।

बैरिया निवासी बुवा टीकाराम भुषाल तथा आमा सुशीला भुसाालका कान्छा सुपुत्र संकल्प भुषाल अत्यन्त लगनशील, मेहेनती र सृजनात्मक रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले जानकारी गराउनुभयो । उहाँले वालकले गरेको कार्य विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापका साथै सामाजिक सद्भाव र समाजसेवा जस्ता क्षेत्रमा अभिप्रेरित गर्नमा प्रोत्साहन गरेको परिणाम रहेको प्रिन्सिपल पाण्डेले बताउनुभयो ।




















