लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएका छन् । उनलाई ५७ जना सांसदले विश्वासको मत दिएका हुन् । उनलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिएको छ ।
गिरिलाई यसअघि समर्थन गरेका ५८ मध्ये ५६ जना सांसदले विश्वासको मत दिँदा एकीकृत समाजवादीका एक सांसदले पनि विश्वासको मत दिएका हुन् । लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभा रहेकामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
एमाले पोलिटब्युरो सदस्य तथा मुख्यमन्त्री गिरीलाई नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत, लोसपा र दुई स्वतन्त्रसहित ५८ सांसदको समर्थन थियो । तर, सभामुख तुलाराम घर्टीले मत दिएनन् भने माओवादी केन्द्रका एक सांसद अनुपस्थित थिए ।
सत्ता साझेदारीमा रहेका एमाले र माओवादीमा मन्त्रीका आकांक्षी बढी भएको र साना दलको संख्या पनि धेरै हुँदा भागबन्डा मिलाउन समस्या परेपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने देखिएको छ । माघको दास्रो सातासम्ममा सरकार विस्तार हुने एमाले संसदीय दलका उपनेता एवं सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।




















