हरि आचार्य, कपिलवस्तु
वडाका हरेक जातजाती, वर्ग, उमेर, लिंग र पेशा अंगालेका वडावासीहरुलाई समावेश गर्दै जनप्रतिनिधिको महशुस गर्दै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.७ ले अर्को महत्वपुर्ण कार्य गरेको छ । वडा कार्यालयले आफ्नो वडा भित्रका एकल महिलाहरुलाई न्यानो कपडा हुड वितरण गरि सम्मान गरेको छ ।
विगका दिनमा वालवालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विद्यार्थी सबैलाई समावेश गरिएको र एकिकृत विकासको अभियान ल्याउने उद्देश्यले वडा भित्र रहेका ५५ बर्ष मुनिका १ सय जना एकल महिलाहरूलाई सम्मान कार्यक्रमको आयोजना गरि उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७९/८० लक्षित वर्गको कार्यक्रम अन्तर्गत चिसो मौसममा एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । यस अघिका वर्षमा समेत वडा नम्मर ७ ले वडाका ज्येष्ठ नगारिक, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लगाएतलाई न्यानो कपडा वितरण गरेको थियो । यस वर्षको लक्षित वर्गको कार्यक्रमबाट वडाका एकल महिलाहरुलाई लक्षित गरि कार्यक्रम गरिएको वडा अध्यक्ष गिरीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले वडा नम्बर ७ ले सवै वर्गलाई वडाका कार्यक्रममा समेट्ने काम गरेको बताउनुभयो । उहाँले विगतका दिनमा पनि वडा नं. ७ ले उत्कृष्ट कार्य गरेको बताउदै स्थानीय सरकारको महशुस हुने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा अध्यक्ष विष्णु गिरीले सडक, नाली जस्ता भौतिक विकास निर्माणले मात्र समृद्ध वडा नहुने भएकाले वडावासीलाई प्रत्यक्ष रुपमा टेवा पुग्ने खालका लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय सबैको साझा सरकार भएकाले वडाका सबै नागरिकलाई समावेश गर्नु आफ्नो दायित्व रहेको बताउनुभयो ।
यस भन्दा अघिको कार्यकालमा पनि विष्णु गिरीको नेतृत्वमा रहेको ७ नम्बर वडा ५ बर्ष नै नगरमै योजना पुरा गर्नेमा पहिलो वडा हुंदै आएको छ ।
चिसोमा न्यानो कपडा पाएसंगै महिलाहरुले खुसी व्यक्त गर्दै वडाका जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।
वडाका सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजीवी लगाएतको उपस्थिति रहेको कार्यक्रम हरिशंकर पौडेलको स्वागत मन्त्व्य र वडा सचिव सन्तोष कुमार बैठाको सञ्चालनमा सम्पन्न भएको थियो ।




















