हरि आचार्य, कपिलवस्तु
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुले शिक्षकहरुलाई ५ दिवसीय पाठ्यक्रम अभिमुखिकरण तालिम प्रदान गरेको छ । अनिवार्य ५ बिषयहरु नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक बिषयहरुको पाठ्यक्रम निर्माण, प्रश्न पत्र तयार लगायत प्रभावकारी शिक्षण अभ्यासका लागि उक्त तालिम प्रदान गरिएको हो ।
तालिममा प्याब्सन कपिलवस्तुका सदस्य २१ वटा मावि विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो ।

पाठ्यक्रमका मान्यता प्राप्त जिल्ला प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो । जस अन्तर्गत गणित बिषयको राजेश मणि त्रिपाठी, विज्ञान बिषयको लक्ष्मी घिमीरे, सामाजिक बिषयको राम प्रसाद गिरी, अंगे्रजी बिषयको सुशिला भुसाल र नेपाली बिषयको मिरा कुमारी ढकालले प्रशिक्षण दिनुभएको थियो ।
उक्त ५ दिने तालिमको सहजिकरण र व्यबस्थापन प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डे र जिल्ला सचिव नविन शर्माले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरे, समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सम्बोधन गर्दै तालिम निकै प्रभावकारी रहेको बताउदै प्याब्सन कपिलवस्तुले प्रशंसायोग्य शैक्षिक क्रियाकलाप गरेको बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, प्याब्सन केन्द्रिय सदस्य शिव प्रसाद गैरे, प्रदेश उपाध्यक्ष केशव सापकोटा, जिल्ला सल्लाहकार कृष्ण प्रसाद भट्राई लगायतले मन्तब्य राख्दै तालिममा सिकेका सीपलाई लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले तालिम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पाण्डेले यो तालिमले अनिवार्य बिषयहरु अध्यापनमा गुणस्तरता आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन प्याब्सन कपिलवस्तुका सचिव नविन शर्माले गर्नुभएको थियो ।




















