काठमाडौंमा बुधबारबाट शुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै सिरिजमा विजयी शुरुवात गरेको हो । जितका लागि १ सय ४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौकाको मदतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाए भने कुशल मल्ल ११ रनमा आउट भएका थिए । यूएईका अल नासिर र निलांश केसवानीले समान एक एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । यूएईका लागि सर्वाधिक रन बसिल हमिदले बनाए । उनले ३८ बलमा एक चौका र तीन छक्काको मद्दतले ५१ रनको अधएसतकीय पारी खेले । यूएईका कप्तान मोहम्मद वसिम १७ रन बनाउँदै आउट भए । आसिफ साहले १५ रनको योगदान गरे । अलि नासर ३२ रन बनाउँदै १६.१ ओभरमा पेभिलियन फर्किए ।
नेपालका लागि करण केसीले सर्वाधिक तीन तथा गुल्शन झाले दुई विकेट लिए । अभिनास बोहरा र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो ।
टी-२० विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, यूएई र हङकङ समावेश छन् । नेपालले सिरिजको दोस्रो खेलमा भोलि बिहीबार हङकङसँग खेल्नेछ ।




















