सितगंगा, अर्घाखाँची —
“जहाँ पुग्दैन रवि, त्यहाँ पुग्दछ कवि“ भन्ने उक्ति अहिलेको प्रशासनिक क्षेत्रमा प्रयोग गर्नुपर्दा भने, “जहाँ पुग्दछन सापकोटा, त्यहाँ सुरु हुन्छ परिवर्तन“ भन्न अत्युक्ति नहोला हालै सितगंगा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका कृष्ण प्रसाद सापकोटाले फेरि एकपटक नेतृत्वको उदाहरणीय शैली प्रस्तुत गरेका छन्।

शितगंगा नगरपालिकाको प्रमुखको रुपमा कार्यभार सम्हालेको केही दिन नपुग्दै उनले ’शितगंगा सरसफाई अभियान’ शुरु गरेका छन्। यस अभियानमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि लिएर सामान्य कर्मचारीहरू समेत झाडु र हसियाँ बोकेर नगर सरसफाईमा उत्रिएको दृश्यले सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
विगतमा पनि यस्तै प्रतिबद्धता

सापकोटाको यो शैली भने पहिलो पटक देखिएको होइन । यसअघि उनले देवदह नगरपालिका, बर्दघाट नगरपालिका, बाणगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका जस्ता स्थानीय तहहरूमा काम गर्दा पनि यही अभियानमार्फत नगर व्यवस्थापनको शुभारम्भ गर्ने गरेका थिए।

उनी जहाँ जान्छन्, सफा र व्यवस्थित नगर बनाउने कार्यलाई पहिलो प्राथमिकता दिन्छन्। “नगरको बाह्य स्वरूपले नै आन्तरिक कार्यशैली झल्काउँछ,” भन्ने उनको भनाइले उनको कार्यदृष्टिकोण प्रस्ट पार्छ ।
प्रशासनिक कार्यमा पनि अब्बल

सरसफाईमा मात्र नभई सापकोटा प्रशासनिक कार्यसम्पादनमा पनि अब्बल छन्। उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको समयमा देवदह नगरपालिकालाई ७५३ स्थानीय तहहरूमध्ये पाँचौं स्थानमा पुर्याउन सफल भएका थिए। कार्यकुशलता, पारदर्शिता र जनमैत्री सेवाको संयोजनले उनले नेतृत्व गरेका पालिकाहरूलाई नमुना नगर बनाइदिएका छन्।
सापकोटाको यस्तो भूमिकाले सितगंगा नगरवासीमा आशा र उत्साह जगाएको छ। सरसफाई अभियानले नगरमा सफा, हरित र व्यवस्थित सहर बनाउने सपना देखाउँदैछ ।
यस्तो अभियानले देखावटी काम मात्र नभई स्थायी प्रभाव पार्नेछ । नियमितता, सहभागिता र पारदर्शिताको माध्यमबाट शितगंगा एक उदाहरणीय नगरपालिका बन्ने बाटोमा अघि बढ्ने निश्चित छ ।



















