तौलिहवा । जीवनमा सफलता संयोगले होइन, निरन्तर संघर्ष, अथक मेहनत र अटल आत्मविश्वासले प्राप्त हुन्छ। कपिलवस्तु नगरपालिका–६ बर्मेलीटोलका ३२ वर्षीय सुदिप भुसालले यही सत्यलाई आफ्नो जीवनबाट प्रमाणित गरेका छन्। अभाव र संघर्षबीच हुर्किएका उनी आज सफल उद्यमीका रूपमा स्थापित मात्र भएका छैनन्, स्वदेशमै सम्भावना खोज्ने युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।
सामान्य कृषक परिवारमा जन्मिएका सुदिपले बाल्यकालदेखि नै श्रमको महत्व बुझे। बुबा यमलाल भुसाल र आमा सरस्वती भुसालले भैंसीपालन तथा खेतीपाती गरेर परिवार चलाउँदा उनले नजिकबाट दुःख र मेहनतको मूल्य देखे। त्यही अनुभवले उनको मनमा एउटा सपना रोप्यो—“आफ्नै मेहनतले केही गरेर देखाउने।”
एसईई उत्तीर्ण गरेपछि भेनाजु थानेश्वर अधिकारीको प्रेरणा र सहयोगमा उनी चितवन पुगे। त्यहाँ भेटेरिनरी तथा कृषि विषय अध्ययन गरी व्यावसायिक ज्ञान हासिल गरे। यही ज्ञानले उनको जीवनको दिशा बदलिदियो।
वि.सं. २०७५ सालमा जम्मा १० हजार रुपैयाँ लगानीबाट बर्मेलीटोलमा सानो भेटेरिनरी पसल सञ्चालन गर्दै उनले व्यवसायिक यात्रा सुरु गरे। पूँजी सानो भए पनि सपना विशाल थियो। इमान्दारिता, सेवाभाव र निरन्तर मेहनतकै बलमा व्यवसाय विस्तार हुँदै गयो।
भेटेरिनरी पसलबाट सुरु भएको यात्रा दूध डेरी, केक सप, कंक्रिट उद्योग र नर्सरी उद्योगसम्म पुग्यो। हाल उनको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन्। कंक्रिट उद्योगका सामग्री कपिलवस्तु, अर्घाखाँची र रुपन्देहीसम्म बिक्री हुने गरेका छन्।
आज सुदिपले वार्षिक करोडौँ रुपैयाँको कारोबार गर्दै आफ्नै कमाइबाट घर निर्माण, घडेरी खरिद तथा व्यवसाय विस्तार गरिरहेका छन्। निकट भविष्यमा बोडगाउँमा नयाँ शाखा सञ्चालन गर्ने उनको योजना छ।
उनको सफलताको अर्को महत्वपूर्ण पक्ष भनेको रोजगारी सिर्जना हो। उनले आफ्ना उद्योग तथा व्यवसायमार्फत ८ जनाभन्दा बढी स्थानीय युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्। उनी भन्छन्, “विदेशमा अवसर खोज्नुभन्दा पहिले आफ्नै गाउँमा सम्भावना खोज्न सकिन्छ।”
सुदिपको सफलतामा परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण रहेको छ। बुबाआमा, दिदीबहिनी, भेनाजु तथा पत्नी सरु भट्टराईले उनको संघर्षमा निरन्तर साथ दिएका छन्। पत्नी सरु भट्टराई भन्छिन्, “उहाँले कामलाई कहिल्यै सानो–ठूलो भनेर हेर्नुभएन। मेहनत र लगनशीलताले आज उहाँलाई मात्र होइन, धेरै युवालाई प्रेरणा दिएको छ।”
भेनाजु थानेश्वर अधिकारीका अनुसार सुदिप स्वदेशमै बसेर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण हुन्। “इमान्दारी, मेहनत र लगनशीलताले असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ,” उनी भन्छन्।
व्यवसायसँगै सुदिप सामाजिक सेवामा पनि सक्रिय छन्। विभिन्न तालिम, स्वास्थ्य शिविर तथा सामाजिक अभियानहरूमा सहयोग गर्दै आएका उनी हाल नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन (नेभ्ला) कपिलवस्तुका अध्यक्ष समेत हुन्।
रोजगारीको खोजीमा हजारौँ युवा विदेश पलायन भइरहेका बेला सुदिप भुसालले आफ्नै गाउँको माटोमा पसिना बगाएर सफलता सम्भव छ भन्ने सन्देश दिएका छन्। उनको जीवनले एउटा महत्वपूर्ण पाठ सिकाउँछ—“सपना ठूलो हुनुपर्छ, सुरुवात सानो भए पनि फरक पर्दैन।”
अभावको कुहिरो चिर्दै सफलताको शिखरसम्म पुगेका सुदिप आज केवल सफल उद्यमी मात्र होइनन्, आशा, आत्मविश्वास र स्वदेशमै सम्भावना खोज्ने साहसका जीवित प्रतीक बनेका छन्। उनको कथा हरेक युवाका लागि प्रेरणाको उज्यालो दीप हो।



















