बाणगंगा । कपिलवस्तु उद्योग व्यापार संघले आगामी मंसिर ५ देखि १७ गतेसम्म “दोस्रो कपिलवस्तु कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८३” आयोजना गर्ने भएको छ । जिल्लाको कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धनसँगै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले यसवर्ष दास्रो कपिलवस्तु व्यापार मेलाको विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी दिने जनाएको छ । मेलाको तयारीबारे जानकारी गराउन संघले पत्रकार सम्मेलनसमेत आयोजना गर्ने भएको छ। संघका अनुसार प्रदर्शनीलाई विगतको अनुभवका आधारमा थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउने तयारी भइरहेको छ। गत वर्ष सोही स्थान र समयमा आयोजना गरिएको प्रथम कपिलवस्तु व्यापार मेलाले स्थानीयवासी तथा आसपासका क्षेत्रबाट आएका दर्शकको उत्साहजनक सहभागिता पाएको थियो। पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। पहिलो व्यापार मेला सम्पन्न भएपछि यसको निरन्तरता हुने–नहुने विषयमा विभिन्न आशंका भए पनि संघले दोस्रो संस्करणको घोषणा गरेसँगै स्थानीय व्यवसायी तथा सर्वसाधारणमा उत्साह थपिएको छ । स्थानीयका अनुसार जिल्लाको कृषि, पर्यटन, उद्योग र व्यापारलाई एउटै थलोमा प्रस्तुत गर्ने यस्ता कार्यक्रमले कपिलवस्तुको पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। शिथिल अर्थतन्त्रमा नयाँ ऊर्जा दिने अपेक्षा कपिलवस्तु उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल ‘कपिल’ ले व्यापार मेलाले जिल्लाको शिथिल अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनका अनुसार महोत्सवलाई केवल मनोरञ्जनमा सीमित नराखी स्थानीय उत्पादन, उद्यमशीलता, पर्यटन र व्यापार प्रवद्र्धनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्ने योजना भएको बताए । “महोत्सवले शिथिल अर्थतन्त्रमा नयाँ गति दिनेछ। साथै मायादेवी रंगशालालाई पनि स्तरीय बनाउने योजनामा छौं,” पौडेलले भने। उनले विगतको अनुभवबाट सिकेका विषयलाई आत्मसात गर्दै यसपटक व्यापार मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताए। पहिलो पटक आयोजना गर्दा तयारीका लागि समय कम भए पनि स्थानीयवासी, व्यवसायी र दर्शकको साथका कारण कार्यक्रम सफल भएको उनको भनाइ छ । पौडेलले व्यापार मेलाले स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवाको प्रचार–प्रसार गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने बताए। कृषि र स्थानीय उत्पादनलाई प्राथमिकता व्यापार मेलामा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने तयारी गरिएको छ। स्थानीय किसानले उत्पादन गरेका कृषि उपज, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्री, हस्तकला, खाद्य सामग्रीलगायत वस्तुको प्रदर्शन तथा बिक्रीका लागि अवसर सिर्जना गरिने संघले जनाएको छ। स्थानीय उत्पादनले बजार नपाउने, उत्पादित वस्तुको उचित मूल्य नपाउने र उपभोक्ताले स्थानीय उत्पादनबारे पर्याप्त जानकारी नपाउने समस्या न्यूनीकरण गर्न प्रदर्शनी उपयोगी बन्न सक्ने व्यवसायीहरूको अपेक्षा छ । थप विषयबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न थालेको उनले बताए




















