मोहन बेल्वासे
कपिलवस्तु
दोस्रो कपिलवस्तु व्यापार मेला तथा महोत्सवको तयारीबारे उद्योग व्यापार संघ कपिलवस्तुले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म बाणगंगास्थित मायादेवी रंगशालामा महोत्सव सञ्चालन गर्ने तयारी अघि बढाइएको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष टोपनारायण बेल्वासेले विगतमा महोत्सव सञ्चालन गरिएको समय र स्थानलाई निरन्तरता दिँदै यस वर्ष पनि मायादेवी रंगशालामै महोत्सव आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवलाई व्यवस्थित, प्रभावकारी र व्यवसाय प्रवद्र्धनमुखी बनाउने उद्देश्यसहित तयारीका काम अघि बढिरहेका बताउनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले भने बाणगंगा क्षेत्रमा छुट्टाछुट्टै रूपमा महोत्सव सञ्चालन गर्नुको सट्टा सबै पक्षबीच सहमति कायम गरी साझा र एउटै महोत्सव आयोजना गर्नुपर्नेमा जोड दिएका छन्। व्यवसायी, उद्योगी र स्थानीय सरोकारवालाबीच विभाजनको अवस्था देखिनु भन्दा एउटै मञ्चमार्फत स्थानीय उत्पादन, व्यापार तथा पर्यटन प्रवद्र्धन गर्न सके त्यसबाट समग्र क्षेत्रलाई लाभ पुग्ने पत्रकारहरूको धारणा व्यक्त गरेका थिए ।
पत्रकारहरूले महोत्सव केवल मनोरञ्जनको कार्यक्रम नभई स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन तथा उत्पादनको प्रवद्र्धन गर्ने माध्यम बन्नुपर्ने भन्दै त्यसका लागि सम्बन्धित व्यवसायीक संस्थाहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए ।
पत्रकारहरूको सुझावप्रति प्रतिक्रिया दिँदै आयोजक समितिका अध्यक्ष टोपनारायण बेल्वासेले महोत्सवलाई साझा रूपमा अगाडि बढाउने विषयमा आफूहरूले पटक–पटक छलफल र सहमतिको प्रयास गरेको बताउनुभयो। तर, उद्योग वाणिज्य संघसँग सहमति कायम हुन नसकेको उहाँको भनाइ थियो ।
उहाँले साझा रूपमा महोत्सव सञ्चालन गर्ने विषयमा आफूहरू सकारात्मक रहेको दाबी गर्दै विभिन्न चरणमा संवाद र छलफल भए पनि अपेक्षित सहमति बन्न नसकेको बताउनुभयो।
यस्तै, उद्योग व्यापार संघ कपिलवस्तुका महासचिव माधव भाट क्षेत्रीले महोत्सवलाई साझा र उत्कृष्ट बनाउन आफूहरू अझै पनि तयार रहेको बताउनुभयो । उहाँले सहअस्तित्व र सहकार्यको वातावरण बनेमा संयुक्त रूपमा अगाडि बढ्न सकिने धारणा राख्दै त्यसो हुन नसके आफूहरू आफ्नै ढंगबाट उत्कृष्ट महोत्सव सञ्चालन गर्न अघि बढ्ने बताउनुभयो।
महोत्सवको विषयलाई लिएर व्यवसायीक संस्थाहरूबीच देखिएको फरक तयारी र गतिविधिले स्थानीय व्यवसायीहरूमा भने चिन्ता बढाएको उद्योग बाणिज्य संघ कपिलवस्तुका पुर्व अध्यक्ष उमानाथ पौडेलले लुम्बिनी दर्पण संगको कुराकानी प्रसङ्गमा बताउनुभयो ।
मुलुकमा विभिन्न विपद्का घटना, आर्थिक गतिविधिमा आएको सुस्तता तथा बजारमा देखिएको चुनौतीका कारण उद्योगी–व्यवसायीहरू समस्यामा रहेका बेला व्यवसायीक संस्थाहरूबीचको आर्थिक प्रतिस्पर्धाले व्यवसायीलाई थप अप्ठ्यारोमा पार्न सक्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले आलोपाले भएपनी अझ भव्य तरिकाले महोत्सवलाई प्रदेश स्तरिय प्रादेशीक महोत्सवमा जोड दिन सवै पक्ष एक हुनुको विकल्प नरहेको बताउनुभयो ।
सरोकारवालाहरूले अहिलेको अवस्थामा महोत्सवको संख्या वा संस्थागत प्रतिस्पर्धाभन्दा पनि व्यवसायीको हित, बजारको विस्तार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। एउटै क्षेत्रमा छुट्टाछुट्टै महोत्सव सञ्चालन हुँदा व्यवसायी, प्रायोजक, दर्शक तथा बजार विभाजित हुन सक्ने भएकाले त्यसको दीर्घकालीन प्रभावबारे समेत विचार गर्नुपर्ने उनीहरूको सुझाव छ ।
यस विषयमा बाणगंगा नगरपालिका अझ सक्रिय रूपमा अघि बढ्नुपर्ने आवाजसमेत उठेको छ। स्थानीय तह भएकाले नगरपालिका सबै पक्षलाई समेटेर समन्वयकारी तथा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ। व्यवसायीक संघ–संस्थाबीच देखिएको मतभेद समाधान गर्न नगरपालिकाले साझा छलफलको वातावरण निर्माण गरी सहमतिको पहल गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
स्थानीय उद्योगी, व्यवसायी, संघ–संस्था तथा सरोकारवालाहरूबीच सहकार्य कायम गर्न सके महोत्सवलाई बाणगंगाको आर्थिक, सांस्कृतिक र पर्यटन गतिविधि विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने देखिन्छ। त्यसका लागि महोत्सवको आयोजना कसले गर्ने भन्ने विषयभन्दा पनि कसरी सबै व्यवसायी र सरोकारवालालाई समेटेर स्थानीय अर्थतन्त्रलाई फाइदा पुग्ने गरी महोत्सव सञ्चालन गर्ने भन्ने विषयलाई केन्द्रमा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। ।
महोत्सवको तयारीसँगै आयोजक पक्षले स्टल व्यवस्थापन, व्यापारिक गतिविधि, सांस्कृतिक कार्यक्रम तथा अन्य आवश्यक तयारीलाई तीव्रता दिने जनाएको छ । तर, एउटै क्षेत्रमा महोत्सव सञ्चालन गर्ने विषयमा देखिएको फरक धारणा अन्त्य गरी साझा सहमति कायम गर्न सके यसले महोत्सवप्रतिको आकर्षण र स्थानीय व्यवसायीको सहभागिता थप बढाउने अपेक्षा गरिएको छ।
अबको चरणमा बाणगंगा नगरपालिका, उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ , व्यवसायी तथा अन्य सरोकारवालाबीच औपचारिक संवाद र समन्वयमार्फत साझा निष्कर्ष निकाल्नुपर्ने देखिएको छ। आर्थिक गतिविधि कमजोर भइरहेको समयमा व्यवसायीलाई थप विभाजित बनाउनेभन्दा उनीहरूलाई एउटै मञ्चमा ल्याएर स्थानीय उत्पादन र बजार प्रवद्र्धनमा केन्द्रित गर्नु अहिलेको आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ छ।




















