चैत २३, बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको ट्रयाक खलबल्याउन केन्द्रबाट प्रयास भइरहेको बताएका छन् । प्रदेश सभाको आजको बैठकमा माओवादी केन्द्र तर्फ संकेत गर्दै उनले केन्द्रबाट प्रदेश सरकारलाई धक्का दिने काम गरेको बताए । केन्द्रीय राजनीतिलाई गलत बाटोमा लैजाने प्रयास रोक्न आफूले भूमिका निर्वाह गरेकाले प्रदेश सरकार तारो बनेको पोखरेलको भनाइ छ । पोखरेलले सिमित सत्ता स्वार्थबाट हुने हलचलबाट प्रभावित नहुने दाबी गरे । आफ्नो विकल्पमा प्रदेश सरकारको नेतृत्व गर्न खुलस्त आउँछ भने तयार रहेको बताउँदै लुकेर विकल्प खोज्नुको जरुरी नभएको उल्लेख गरे । माओवादी केन्द्रतिर लक्षित गर्दै उनले सत्तामा नबस्ने हो भने छलफल गर्न सकिने बताए । पोखरेलले सत्तामै रहेर सत्तालाई कमजोर पार्ने काम लोकतन्त्रमा नसुहाउने उल्लेख गरे ।




















