वैशाख १७, बुटवल
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका आफ्ना सदस्यहरुलाई निष्कासन गरेको सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसलाई कार्यान्वयनमा नल्याउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । जसपा अध्यक्ष महन्त अध्यक्ष ठाकुरले आज निर्वाचन आयोगको कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गर्दै लुम्बिनी प्रदेश सभाको सचिवालयमा दर्ता भएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति निर्णय भनिएको पत्र अवैध र गैरकानुनी भएको दाबी गर्दै कारबाही नगर्न ध्यानाकर्षण गराउनुभएको हो । प्रदेशसभाले हिजो सूचना जारी गर्दै जसपा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भएको सूचना प्रकाशन गरेको थियो । जसपाका ४ सदस्य निष्कासन भएपछि अब २ सदस्य मात्र बाँकी रहेका छन् । अध्यक्ष ठाकुरले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस ७ गतेपछि नबसेको बताउँदै लुम्बिनी प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्र अवैध र गैरकानुनी भएको दाबी गर्नुभएको छ । उनले अवैध र गैरकानुनी पत्रलाई आधार मानी प्रदेशसभाले सूचना प्रकाशित गर्नु विडम्बना भएको बताउँदै त्यसलाई कार्यान्वयनमा नल्याउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको हो । प्रदेश निर्वाचन आयोग लुम्बिनी प्रदेशलाई समेत बोधार्थ गराउँदै ध्यानाकर्षणमा गैरकानुनी पत्रलाई आधार मानेर कुनै पनि कारबाही अगाडि नबढाउन आग्रह गरिएको छ ।




















