सरकारले खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासो, नवौँ राष्ट्रिय खेलकूद अन्योलमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ४ जेष्ठ, कास्की
नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताबारे केही उल्लेख नहुँदा तोकिएको मितिमा आयोजना हुनेमा आशङ्का शुरु भएको छ ।

यसअघि खेलकूदका महत्वपूर्ण प्रतियोगिता सरकारले वार्षिक कार्यक्रममा समावेश गथ्र्यो ।

गत वर्ष वैशाखमा प्रदेश नं ५ को बाँकेलगायत जिल्लाहरुमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदपछि नवौँको जिम्मा गण्डकी प्रदेशले पाएको थियो ।

प्रतियोगिता समापनका अवसरमा आगामी संस्करण आयोजनाको झण्डा बोकेर गण्डकीको टोली पोखरा आएको थियो ।

मिति तय नभए पनि आगामी फागुनमा राष्ट्रिय खेलकूद आयोजना गर्ने भन्ने उल्लेख थियो ।

नेपाली खेल क्षेत्रको कुम्भ मेला राष्ट्रिय खेलकूद सरकारले हरेक दुईदुई वर्षमा आयोजना गर्छ ।

विसं २०३८ देखि राष्ट्रिय खेलकूद गर्न शुरु गरिएको हो । कहिले नियमित तथा कहिले लामो अन्तरालमा प्रतियोगिता हुँदै आएकामा विसं २०७३ मा प्रदेश नं १ मा सातौँ संस्करण आयोजनापछि विसं २०७५ मा आठौँ आयोजना गरियो ।

आगामी वर्षको कार्यक्रममा राष्ट्रिय खेलकूदबारे उल्लेख नहुँदा खेलकर्मी, खेलाडी तथा खेल सङ्घसमेत अन्योलमा छन् ।

कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको बन्दाबन्दीले खेल क्षेत्रसमेते प्रभावित बनेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सक्ने गरी खेलाडीको क्षमता विकास गरिने तथा स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकूद पूर्वाधारको निर्माण, स्तरोन्नति तथा उच्च पर्वतीय खेलकूद तालीम केन्द्र स्थापना र निजी क्षेत्रबाट निर्माण गरिएका खेल पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिनेछ भन्ने बाहेक अन्य विषय समेटिएका छैनन् ।

खेलकूदका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता तथा खेल पूर्वाधार निर्माण अहिले रोकिएको छ ।

आंशिक रुपमा केही पूर्वाधार निर्माण भइरहे पनि अधिकांश काम ठप्प छ । यसबाट राष्ट्रिय खेलकूद प्रभावित हुने आकलन गर्न थालिएको छ ।

राष्ट्रिय खेलकूदबारे सरकारको वार्षिक नीति कार्यक्रमा आउनुपर्नेमा नआउँदा तोकिएकै मितिमा प्रतियोगिता हुने बारेमा आशङ्का उत्पन्न भएको खेलकर्मीको भनाइ छ ।


प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार ०७:५४