लुदअ, १९ जेठ
राजन कुईंकेल
राजा वीरेन्द्रको वंशनाश गर्ने गरी मच्चाइएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । १९ वर्षको यस अवधिमा अनेकन व्यक्ति सत्तामा पुगे तर राजा वीरेन्द्रको परिवारको समूल नष्ट गर्ने गरी मच्चाइएको हत्याकाण्डको चित्तबुझ्दो कारण अहिलेसम्म पनि जनताले पाएका छैनन् ।
२०५८ साल जेठ १९ गते शुक्रवारको रात्रि राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रुतिसहितका १० जनाका लागि कठोर काल बनेर निम्तिएको थियो । घटना राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाह, राजपरिवारका सदस्यहरु शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर मारिएको थियो ।
नेपालको इतिहासकै कालो दिनका रुपमा अंकित जेठ १९ मा भएको घटनाबारे अझै पनि नेपालीको मन सन्तुष्ट हुने गरी तथ्य स्थापित गर्न सकिएको छैन । हुनत, राजा वीरेन्द्रका सहोदर भाई ज्ञानेन्द्र स्वयं हत्याकाण्डपछि राजा बने । तर मानिसलाई पत्यार लाग्ने गरी उनले पनि घटनाको छानबीन गराउन सकेनन् ।
सर्वोच्च अदालतका तात्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समितिले प्रेमवियोगमा परेका युवराज दीपेन्द्रबाट हत्याकाण्ड मच्चाइएको प्रतिवेदन त दियो तर उक्त प्रतिवेदनलाई अहिलेसम्म पनि मानिसले पत्याउन सकेका छैनन् ।
ज्ञानेन्द्रबाहेक नै पनि यो कालखण्डमा दर्जनौं व्यक्ति प्रधानमन्त्री बनेर सत्ता सम्हाले तर कसैले पनि यस हत्याकाण्डको उचित छानबिन गराएनन् । वीरेन्द्रको वंशनाश भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर इतिहासकै सबैभन्दा ठूलो हत्याकाण्डको तथ्य सार्वजनिक गर्ने आश्वासन प्रत्येकजसो शासकले दिए । तर दण्डहीनताको जालोमा लपेटिएको नेपाली सत्ताले यो घटनालाई पनि उसैगरी छाडिदियो जसरी अरु सयकडौं घटनाहरु न्याय नपाएरै इतिहासको गर्भमा विलुप्त भए ।
नोपली जनताको मनमा विकासवादी, शान्तिकामी र एक शालिन राजाका स्थापित वीरेन्द्र अन्तर्राष्ट्रिय जगतमा पनि उत्तिकै लोकप्रिय मानिन्थे । तर शुक्रबारे उक्त अकल्पनीय कालरात्रिपछि उनी संसारमै एउटा दुःखद घटनाबाट परिचित रहे ।
संसारमै बिरलै हुने यस्ता वंशनाशका हत्याकाण्डका खबरले १९ वर्ष अगाडिको त्यो दिन संसार नै स्तब्ध बनेको थियो । आज सम्झँदा त्यतिबेला भदौरे झरी सरी बलीन्द्र अश्रुधाराले आफ्ना प्रिय राजाको बिदाई गर्नेहरुको भीड कसरी सम्हालियो होला भन्ने लाग्छ । परिस्थिति सम्हाल्न सोही काण्डमा परेर गम्भीर भएका अचेत अवस्थाका युवराज दीपेन्द्रलाई नयाँ राजा घोषणा गर्नुपरेको थियो ।
तात्कालीन रुपमा प्रवाह गराइएको सूचनामा हत्याकाण्ड दीपेन्द्रले नै घटाएको भन्ने थियो । तर युवा वर्गमा निकै लोकप्रिय छबी बनाएका दीपेन्द्रमाथि लगाइएको त्यो आरोप सत्य मान्ने पक्षमा नेपाली जनता थिएनन् । उनीहरुमा ठूलै षडयन्त्रबाट दरबार हत्याकाण्ड मच्चाइएको आशंका थियो । हत्याकाण्डका समयमा प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले यस घटनालाई बारम्बार ‘ग्राण्ड डिजाइन’ को संज्ञा दिइरहे । तर उनले यस हत्याकाण्डपछीको डिजाइन के थियो भन्ने कहिल्यै खुलासा गरेनन् ।
देशमा एकातिर संसदीय व्यवस्थाविरुद्ध चलाइएको माओवादी सशस्त्र हिंसा चरम उत्कर्षमा पुगिरहेको थियो । अर्कातर्फ सिंहदरबार केन्द्रित सत्ता चरम भ्रष्टाचार र अनियमितताका कारण अलोकप्रिय थियो । जनता देशको राजनीतिप्रति अत्यन्तै निराश थिए । शासन प्रशासन राज्यको ढुकुटीमा लूट मच्चाउने खेलमा लिप्त थियो । जुन अद्यापि कायमै छ । यस्तो बेलामा कल्पना पनि गर्न नसकिने एउटा भयंकरको बज्रपात नेपाल र नेपालीले सहनु परेको थियो ।
मुलुकमा बहुदलीय व्यवस्थाको पुनर्बहालीको माग गर्दै जनआन्दोलन हुँदा जनतालाई शक्ति छाड्ने र नछाड्ने भन्नेमा दरबारभित्र तीब्र बहस हुँदा उदारवादी राजा वीरेन्द्र जनतासँग शक्ति साझेदारी गर्ने निर्णयमा पुगेका थिए । त्यसले पनि उनीप्रति सबैखाले नागरिकको सम्मान थियो । कट्टरतावादी दरबारीयाहरु कुनै हालतमा पनि बहुदलीय व्यवस्था पुनस्र्थापना गर्न नदिने पक्षमा हुँदा पनि राजा वीरेन्द्रले आफ्ना जनतासँग नै सत्ता साझेदारी गर्ने बाटो रोजे ।
२०४६ सालमा मुलुकमा नेपाली कांग्रेस र कम्युनिष्टहरुले शुरु गरेको जनआन्दोलन उत्कर्षतर्फ पुग्दै गर्दा राजा वीरेन्द्रसँग सत्ता टिकाउनका लागि राष्ट्रिय सार्वभौमिकतामै कटौति गर्ने खालको प्रस्ताव भारतले पठाएको दाबी गरिएका छन् । उक्त प्रस्तावपछि राजा वीरेन्द्र मुलुकको सार्वभौमिकता कटौति हुने विदेशी प्रस्तावमा लम्पसार परेर सत्ता टिकाउनेभन्दा दलका नेताहरुसँगै साझेदारी गर्ने पक्षमा उभिएको तथ्यहरु स्थापित भइसकेका छन् ।
आजभन्दा ७५ वर्षअघि विसं २००२ साल पुस १४ गते पिता महेन्द्र र माता इन्द्र राज्यलक्ष्मी शाहको जेठा सन्तानका रुपमा जन्मिएका वीरेन्द्रले विसं २०२८ सालमा बाबुराजा महेन्द्रको निधनपछी राजा बनेर राजवंशको परम्परा सम्हालेका थिए । राजा नेतृत्वको पञ्चायती व्यवस्थाको १८ वर्ष सक्रिय नेतृत्व गरेका उनी २०५८ सालको त्रासदीपूर्ण हत्याकाण्ड अगाडिसम्म १२ वर्ष संवैधानिक राजाका रुपमा रहे ।
सक्रिय शासन सम्हाल्दाभन्दा पनि संवैधानिक हैसियतमा रहँदा उनको लोकप्रियता बढी चुलिएको थियो । दलका नेताहरुले चलाएको शासनले जनतामा निराशा छाइरहँदा पनि उनले संविधानको कुशल अभिभावकको भूमिका निर्वाह गरिरहे । निहीत स्वार्थका लागि केही दरबारीयाले सत्ताका लागि उक्साएर विवादमा तान्न खोजे पनि उनले त्यसलाई लत्याउँदै आएको उनीसँग लामो बसउठ गरेका तात्कालीक शासक प्रशासकहरु बताउँछन् ।
रहस्यमय उक्त हत्याकाण्डसँगै नेपाली माटोबाट राजतन्त्रको जरो हल्लियो । संसदीय प्रजातन्त्रमाथिको प्रहार झन् तीब्र बने । प्रजातन्त्र र राजतन्त्रको साझेदारी ९संवैधानिक राजतन्त्र० नै नेपालका लागि उपयुक्त बाटो हो भन्ने वीपी कोइरालाको विचार पनि यो हत्याकाण्डसँगै कमजोर बन्यो । जनताका प्रतिनिधिले शासन र राजाले राज्य गर्ने भन्ने सम्झौता पनि हत्याकाण्डले चूर्ण बनाइदियो ।
वीरेन्द्रको वंशनाशपछी राजवंश सम्हाल्न आएका उनकै भाइ ज्ञानेन्द्रले दाईको स्थानमा नबस्ने भन्दै आफ्ना पिता महेन्द्रको सक्रिय शासनको बाटो पछ्याए । यसले राजतन्त्र र दलहरुको दूरी बढायो । मौकाको ताकमा रहेको माओवादी अनेकन षडयन्त्रको सिद्धान्त प्रयोग गर्दै परम्परागत राज्यसत्तालाई कमजोर बनाउन सफल भयो । नेपालमा प्रजातन्त्र र संवैधानिक राजतन्त्र रहेको हेर्न नचाहने देशी विदेशीहरुको गठजोठबाट अन्ततः नेपालबाट राजतन्त्रले नै बिदा पायो । मुलुकमा परम्परागत संसदीय प्रजातन्त्रको स्थानमा वर्णशंकर व्यवस्थाको गाँड थपियो । सनातन राज्य व्यवस्थाका आधारहरु नष्ट गर्दै आयातित वर्णशंकर व्यवस्थामै काफलचरी नाच्न थाले ।
मुलुकमा गणतन्त्र त स्थापित भयो । तर यस तन्त्रको जग नेपाली भूमिभन्दा बाहिर रहँदा वर्तमान शासकहरुका लागि दिल्ली र बेइजिङको खुला हस्तक्षेप ग्राह्य हुँदै गएको छ । अमेरिकी यूरोपियनहरुको स्वार्थमा संविधानका पानाहरु नै रंगिएका छन् । विश्वमा क्रान्तिले तात्कालीन रुसी जारशाहको वंशनाश गरिएबाहेक यस्तो दर्दनाक घटना संसारमै बिरलै भएको छ ।
यस्तो कठोर काल ब्यहोर्न विवश तात्कालीन राजा वीरेन्द्रसहित दरबार हत्यकाण्डमा ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धासुमन १