
हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेका प्रदेश सांसद बिष्णु पन्थीले खेल स्वास्थ्य र अनुशासन मात्र नभई देशको अर्थतन्त्रसंग जोडिएको बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ वडा कार्यालयद्धारा आयोजित तेस्रो वडा स्तरिय क्रिकेट लिग प्रतियोगिताको उद्घाटन गर्दै सांसद पन्थीले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पन्थीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सोहि क्रममा सांसद पन्थीले युवाहरुलाई कुन बाटोमा हिडाउने भन्ने कुराको मध्यनजर खेलकुद क्षेत्रले गर्ने बताए । सांसद पन्थीले विश्वका धेरै देशहरुको शिर अहिले खेलकुदको माध्यमबाट उचो भएकाले यस तर्फ जनप्रतिनिधिहरु चनाखो हुन आवश्यक रहेको बताए ।
वडास्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताले खेलाडीहरुको क्षमता विकास हुनुका साथै हौसला समेत बढ्ने जिकिर गरे । खेलकुदको विकासका लागि अभ्यास अपरिहार्य रहेकाले खेलकुदका क्षेत्रमा प्रदेश सरकारले पनि विभिन्न कार्यक्रमहरु ल्याएको बताए । उनले प्रत्येक वडामा एक/एक वटा कभर्ड हल निर्माण गर्ने लक्ष्यका साथ प्रदेश सरकारसंग पहल गरिरहेको बताए ।
फरक प्रसंगमा सांसद पन्थीले वडा नं. ५ मा खेल मैदानको नजिकै सांस्कृतिक केन्द्र स्थापनाका लागि संघिय सरकारसंग समन्वय गरि मास्टर प्लान र डिपिआरको केहि काम अगाडि बढाईएकोले वडामा मात्र नभई नगरपालिकानै पर्यटनको क्षेत्रमा अगाडि बढ्ने बताए ।
४ बर्ष पहिलेको वडा र अहिलेको वडा नंं ५ मा धेरै परिवर्तन भएको भन्दै अब जहदी/बुंचीको सडक खण्डलाई डबल लेनमा रुपान्तरणका लागि पहल भईरहेको भन्दै यस बर्ष काम अगाडि बढ्ने दावि गरे ।