
हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले अन्तराष्ट्रिय स्तरकै कराते प्रशिक्षक तथा करातेका जन्मदाता थानेश्वर राईको बुद्धको भुमि कपिलवस्तुमा आगमन हुंदा खेलकुद क्षेत्रमा थप गौरवको महशुस भएको बताउनुभएको छ । जिल्ला खेलकुद विकास समिति कपिलवस्तु तथा लुम्बिनी प्रदेश कराते प्राविधिक समितिको आयोजनामा स्वागत, सम्मान तथा प्रदेशका खेलाडीहरुसंग पारस्परिक भेटघाट तथा प्राविधिक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
करातेका जन्मदाता राईले पु-याएको योगदानबारे चर्चा गर्दै उहाँप्रति प्रदेश विभिन्न जिल्लाका प्रशिक्षक तथा खेलाडीहरुले गरेको स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले करातेले खेलकुद क्षेत्रको विकासमा अहम भुमिका खेल्ने बताउदै लुम्बिनी प्रदेशमै खेलकुदको विकास क्रमशः हुंदै गएको बताउनुभयो ।
सांसद पन्थीले चार दशक अघि नेपालमा पुनः कराते खेल भित्र्याउने ग्राण्ड मास्टर राई, प्रदेशका विभिन्न जिल्लाका राष्ट्रिय प्रशिक्षक तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बुद्धको भुमि कपिलवस्तुको बाणगंगा आउने खेलाडीहरुलाइ हार्दिक स्वागत गर्दै खेलकुद क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।
बुद्धकालिन पुरानो खेलको संरक्षण तथा विकास गर्न अहम भुमिका खेल्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै यसले वालवालिका तथा युवाहरुको शारिरीक, मानसिक पक्षको विकास गर्न टेवा पुग्ने बताउनुभयो ।