फागुन १६
रुपन्देहीको तिलोत्तमा नगरपालिका कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । तिलोत्तमाका १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले खोप सुनिश्चित नगरको प्रमाणपत्र सार्वजनिक गर्नुभयो । सोही अवसरमा बोल्दै प्रमुख विश्वकर्माले तिलोत्तमाले नगरलाई पूर्णखोप घोषणा गरेर नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताउनुभयो । उहाँले तिलोत्तमाले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता अन्य पालिकाका लागि सिकाइ बनेको बताउँदै घोषणालाई दिगो बनाइनुपर्नेमा जोड दिनुभएको थियो । यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तिलोत्तमा कार्यविधिअनुसार काम गरेर मुलुक मैं पहिलो कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पालिका बन्न सफल बनेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले खोपको दिगोपनको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभयो । त्यस अवसरमा जिल्ला खोप समन्वय समितिले नगरपालिकालाई पूर्णखोप भएको प्रमाणपत्र प्रदान गरेको थियो । कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष तामानाथ पाण्डेय, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल शिक्षक महासंघ तिलोत्तमा अध्यक्ष खेमराज पाण्डेय, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेल, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेललगायतले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रम नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको हो ।



















