लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मानव अधिकार हनन

[sharethis-inline-buttons]

बुटवल, फागुन ।

लुम्बिनी प्रदेशमा मानव अधिकार हननका हिसाबले सबैभन्दा बढी घटना दर्ता भएको प्रदेशका रुपमा देखिएको छ । इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार देशमा कुल ६ हजार २ सय ८५ घटनाहरु पिडितहरुले दर्ता गरेको देखिएको छ । अपहरण, गिरफतारी, कुटपिट, बाल अधिकार, हिरासतमा मृत्यु, अमानविय ब्यवहार, घाईते, हत्या, जातीय विभेद, अभिब्यक्ति, भेला तथा संगठित हुने अधिकार, धम्की, यातना, महिला अधिकार, कारागारमा मृत्यु र बेपत्ता जस्ता घटनाहरु दर्ता भएकामध्ये लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८६ घटनाहरु दर्ता छन । जुन २९ प्रतिशत हुन आउछ ।

यसैगरि प्रदेशमा दर्ता भएका कुल घटनामध्ये ७२ प्रतिशत महिला अधिकार हननका घटना दर्ता भएका छन । ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंजको आयोजनामा शनिबार बुटवलमा लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा हिसाका घटना ठुलो संख्यामा दर्ता हुनु निक्कै गम्भिर भएको बताए । कार्यक्रममा ईन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उलंघनका हिसाबले लुम्बिनी प्रदेश अगाडी रहेको भन्दै रिपोर्टको संख्या बढ्नुभनेको आम नागरिकमा सचेतना बढ्नु पनि देखिएको उनको दाबी छ । प्रदेशका अधिकाश कारागारको अवस्था निक्कै दयनिय रहेको उनले बताए ।

लुम्बिनी प्रदेश मुख्य न्यायाधिबक्ता श्रीकृष्ण सुवेदीले ईन्सेकको २९ वर्षदेखि निरन्तर प्रकाशित हुने मानव अधिकार वर्ष पुस्तक एउटा महत्वपुर्ण पुस्तक भएको दाबी गरे । अधिकारको सवाल आवाज उठाउने समूह जहाँ पुग्दा पनि एउटै हुनु स्वाभाविक भएको भन्दै यसलाई चिर्दै लैजानुपर्ने बताए । प्रदेश सरकारलाई घचघचाउने काम पुस्तकको तथ्याकले गरेको दाबी गर्दै कानुनी सल्लाहकारका हैसियतले यसतर्फ काम अघि बढाउने उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा शान्ति समाज तथा मानव अधिकारका केन्द्रिय अध्यक्ष गोबिन्द खनालले मानव अधिकारको परिभाषालाई फरक ढंगबाट समाजमा बुझने काम भएको भन्दै ब्यवहारमा बुझाउन नसकिएको दाबी गरे । हिसाको राजनिति गरिरहेका दलहरुका कारण मानव अधिकार धरापमा रहेको उनको गुनासो छ । घर शान्ति, समाज शान्ति हुँदै देश र विश्व शान्तिको अभियानमा लाग्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रामराज पोखरेल, माईती नेपाल रुपन्देहीका अध्यक्ष माया केसीले सबै दृष्टिकोणबाट अध्ययन गरेर वास्तविकता बाहिर ल्याउनुपर्ने बताए ।


प्रकाशित : २०७८ फाल्गुन २२, आईतवार १४:५१