जेष्ठ ७ गते काठमाण्डौं । डोटीमा आज बिहान बस दुर्घटना हुदा १२ जना घाइते र १ जना बेपत्ता भएको छ । दुर्घटनामा परेका १२ जना घाइते मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले बताए ।अन्य घाइते भएका व्यक्तिहरुको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले बताए ।
कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको छ ।
तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताए ।




















