
नवलपरासी ।
बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरमस्थलमा पर्यटकको चाप बढेको छ । नवलपुरमा रहेका पर्यटकीय क्षेत्र त्रिवेणीधाम, मौलाकालिका, दाउन्ने, शाश्वतधाम, अकलादेवी, गङ्गेश्वरधाम, अमलटारी, कुमसोत, धौवादी, पोखरीताललगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
जिल्लाको नारायणी तटीय क्षेत्रसहित मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी, वन्यजन्तु अवलोकनका लागि पर्यटकको आगमन बढ्न थालेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए ।

