मलेसियाबाट फर्किएर व्यवसायिक किवी खेतीमा व्यस्त राजेश

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

खोटाङ, १६ असोज ।

मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम भएको दिन भने समय कटाउन ‘बोर’ हुन्थ्यो । तर, उनले फुर्सदको समयलाई खेर फालेनन् । साथमा भएको ल्यापटप खोलेर बिश्वका महंगो र पोषिलो फलफुलका बारेमा यूटयुबमा अध्ययन गरे । त्यस्ता फलफुलको सूचीमा उनले किवी भेट्टाए । सेक्यूरिटी गार्डको काम गर्दागर्दै उनले न्यूजील्याण्डबाट किवी खेती विस्तार भएको जानकारी लिए । तर, उनलाई त्यो बेला नेपालमा किवी फल्छ भन्ने जानकारीसम्म थिएन ।

वैदेशिक रोजगारीका सिलसिलामा राजेश सन् २००३ मा मलेसिया पुगेका थिए । मलेसिया बसाईका क्रममा उनले किवी खेतीका बारेमा सैद्धान्तिक अध्ययन गरे । नेपालको सुलुबुङ इलाम दोलखा, गोदावरी लगायतका ठाउँमा किवी खेती भइरहेको भिडियोहरु भेट्टाए । आफ्नो गाउँठाउँको हावापानी सुहाउँदो भएकाले घर फर्केर किवी खेती लगाउने सपना बुनेका थिए । साथीभाईलाई किवी खेती लगाउने योजना सुनाउँदै आएका राजेश सन् २०१३ मा घर फर्के । उसो त उनी सन् २००१ मै मलेसियाको स्टिल फर्निचर उद्योगमा पुगेर तीन वर्ष बताइसकेका थिए ।

घर फर्कदा बुबाले तत्कालिन कृषि कार्यालयमार्फत प्राप्त आठ बोट किवी हुर्काइसकेका थिए । केही किवी फल्न पनि थालेको थियो । त्यसले उनको सपनामा उर्जा थप्यो । किवी खेती लगाउने बारेमा थप अध्ययन गर्न गोदावरी पुगे । गोदावरीबाट प्रतिवटा पाँच सयका दरले बोर्न जातको किवीको दुई सय बोट बेर्ना ल्याए । रामेछापबाट आलिसान, हेवार्ड र मन्टी जातको तीन सय बोट बेर्ना ल्याएर बारीमा रोपे । रोपेको दुई वर्षदेखि फाट्टफुट्ट फल दिन थालेको किवीले चार वर्षदेखि प्रशस्त उत्पादन दिन थालेको राजेश बताउँछन् ।


प्रकाशित : २०७९ आश्विन १६, आईतवार १२:३८