भीम रावलको टिकट खोसिएपछि अछाम एमालेमा विद्रोह

[sharethis-inline-buttons]

एमालेका नेता डा.भीम रावलको टिकट खोसिएपछि अछाममा एमाले कार्यकर्ताबीच राजीनामा दिनेको लहर चलेको छ  । डा. रावलको गृहजिल्ला अछामा एमालेका ४० नेता कार्यकर्ताले संयुक्तरुपमा जिल्ला कमिटीलाई राजीनामा बुझाएका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा खैलाबैला मच्चिएको छ ।अछाममा बाँकी एमाले नेताहरुले विद्रोहको तयारीसमेत गरेको एक नेताले बताए ।

एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।उता नेकपा एमालेले अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले यसअघि नै पदबाट राजीनामा दिएका छन् ।

अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका शाहले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् ।

एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा अछाम क्षेत्र नम्बर १, क्षेत्रीय समन्वय कमिटीको भदौ १९ गते बसेको बैठकले सो क्षेत्रका लागि सर्वसम्मत रुपमा भीम रावलको नाम एकल सिफारिस गरेको उल्लेख गर्दै शाहले केन्द्रबाट उक्त सिफारिस विपरीत उम्मेदवार चयन गरेको भन्दै संयोजक नरहने गरी राजीनामा दिएको जनाए ।

तर रावलले भने यसबारे अहिले सम्म कुनै प्रतिकृया दिएका छैनन् ।जिल्ला कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमा आएका झपट बोहरालाई दिएको अछामका एमाले नेता कार्यकर्ताहरुको आरोप छ ।


प्रकाशित : २०७९ आश्विन २२, शनिबार २०:०८