रुपन्देहीको रोहिणी गाउँपालिका कुस्ती प्रतियोगिता गर्दै  , प्रथम लाई नगद १ लाख १ हजार १ सय ११ , दोश्रोलाई ५० हजार ५ सय ५५ 

[sharethis-inline-buttons]

भैरहवा ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले धकधइमा कुस्ती प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबार धकधइमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकामा युवाहरुलाइ कुस्तीप्रति आकर्षित गर्न तथा उनिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै कुस्तीको आयोजना गर्न लागिएको गाउपालिकाले जनाएको छ ।

गाउँपालिकामा रहेका युवाहरुलाइ कुलतमा लाग्न नदिन, संस्कृतिको संरक्षण, प्राचीन खेलको संरक्षण लगायतको उद्देश्य राखी गाउँपालिकाबाट नै ५ लाख रुपैया बिनियोजन गरि कुस्ती प्रतियोगिताको आयोजना गर्न लागिएको गाउपालिका अध्यक्ष बिध्या प्रसाद यादवले जानकारी दिए ।

उनले यसलाई यस बर्ष मात्र नभई गाउँपालिकाको नियमित योजनामा राखी यसलाइ निरन्तरता दिइने जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका गरि २५ जना भन्दा बढी पहलवान सहभागी हुने गाउपालिकाका प्रवक्ता समेत रहेक वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले जानकारी दिए ।

कार्तिक १५ र १६ गते आयोजना हुने प्रतियोगितामा प्रथम हुने पहलवानलाई नगद १ लाख १ हजार १ सय ११ रुपैया, दोश्रो हुनेलाइ ५० हजार ५ सय ५५ रुपैया, तेश्रोलाई २५ हजार २ सय २५ रुपैया एवम १५ हजार १ सय २५ रुपैयाको सान्त्वना पुरस्कार बितरण गर्ने क्षेत्रीले जनाए ।

प्रतियोगितामा स्थानिय स्तरमा रहेका पहलवानका साथै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सहभागी पहलवान र भारत हरियाणा, दिल्ली, बिहार, उत्तर प्रदेशका नामि पहलवानहरुले भाग लिने उनले जनाए । कार्यक्रममा १५ हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्ती मात्र नभइ अन्य खेलकुदलाइ पनि क्रमशस् प्रवर्द्धन गर्दै लैजाने बताए । खेलकुदले पालिकाका युवाहरुलाई सहि बाटोमा निर्देशित गर्ने भएकोले पालिकाले खेलकुदमा ध्यान दिने उनले बताए । पत्रकार सम्मेलनको सन्चालन गाउपालिकाका योजना तथा अनुगमन शाखाका प्रमुख राजकुमार मिश्रले गरेका थिए ।


प्रकाशित : २०७९ कार्तिक ५, शनिबार १७:०३