हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ बैजलपुर स्थित पञ्च आधारभूत विद्यालय २९ औं अभिभावक दिवस तथा शैक्षिक वर्ष २०७९ को नतिजा प्रकाशन समारोह सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष चुरामणि बेल्वासेको अध्यक्षता तथा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर २ अध्यक्ष विष्णु प्रसाद पौडेलको विशिष्ट अतिथ्यता, विद्यालयका निवर्तमान प्रधानाध्यापक जगतराज रेग्मी, विद्यालयका प्रस्तावक तथा संस्थापक राम सिङ मल्ल लगायत सम्पूर्ण पूर्व अध्यक्ष ज्यूहरूको उपस्थितिमा भएको कार्यक्रममा नतिजा प्रकाशन, उत्कृष्ट विद्यार्थी तथा विभिन्न खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै विभिन्न व्यक्ती तथा संस्था वाट स्थापित भएको अक्षयकोषबाट अति विपन्न, गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको थियोे ।
कार्यक्रममा शिक्षण सेवाबाट निवृत्त हुनुभएका निवर्तमान पधानाध्यापक जगतराज रेग्मी तथा विद्यालयलाई निशुल्क रुपमा साढे १ धुर जग्गा, भलिबल कोर्टको पोल र सिलङ पङ्खा सहयोग गर्नुहुने समाजसेवी दम्पती श्री मानध्वज कार्की/शान्ता कार्कीलाई सो कार्यक्रममा सम्मान गरिएको थियो । साथै विद्यालयमा नयाँ पदस्थापन भई आउनुभएका शिक्षक रोसन खनाललाई समेत स्वागत गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनबहादुर गाहाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
विद्यालयका शिक्षिका सुजाता रेग्मीले संचालन गर्नुभएको कार्यक्रममा शिक्षिका यशोधरा रानाले शब्द बाट स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियोे । सो कार्यक्रममा विधार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य तथा नाटक पनि प्रस्तुत गरेका थिए ।