
मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूले तीन महिना अघि लगाइएको टिकटक प्रतिबन्धले डेटाको खपतमा उल्लेख्य कमी गराएको र त्यसबाट आफ्नो आम्दानीमा असर परिरहेको जनाएका छन् । आफ्नो प्ल्याटफर्ममाथिको प्रतिबन्ध खुलाउन टिकटकले नेपाल सरकारसँग पैरवी गरिरहेका बेला प्रतिबन्धको असरबारे निजी क्षेत्रका सञ्चार प्रदायकहरूको धारणा बाहिर आएको हो । साथै प्रतिनिधिसभामा जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले टिकटकले जनाएको प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन सुनिश्चित भएमा उक्त सञ्जाललाई नियमन गर्न सकिने बताएका थिए।
मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्धको उल्लेख्य असर आफ्नो विस्तार र आम्दानीमा देखिएको बताएका छन् । कुरा गर्दै सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटीसीं) का प्रवक्ता हरि ढकालले टिकटक चलाउने ग्राहकहरूको सङ्ख्या ठूलो रहेको एनटीसीले प्रतिबन्धको असर अनुभव गरेको बताएका छन् । उनले भने ,“टिकटक बन्द हुनासाथ लगभग ८८ प्रतिशत हाम्रो टिकटकको ट्राफिक स्वाट्टै घटेको छ। तर गुगलमा लगभग ११ प्रतिशत र फेसबुकमा लगभग ३० प्रतिशत ट्राफिक बढेको देखिन्छ” । उक्त प्रतिबन्धको असर आँकडामा प्रस्तुत नगरे पनि नेपाल टेलिकमका प्रवक्ताले ‘टिकटक चलाएर प्राप्त हुने आम्दानी घटेको तर बढ्नुपर्ने फाइदा नबढेको’ सुनाए।

