काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहबाट हिजो चोरी भएको २६ दिनको बच्चा काठमाडौंको काँडाघारीमा भेटिएको छ । प्रहरीले बच्चा लिएर जाने महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दैलेख नौमुले गाउँपालिका–१, घर भई काठमाडौँ, काँडाघारी बस्ने २४ वर्ष की मनकुमारी सिंहसहित उनका श्रीमान् नरेन्द्र मल्ल र दिदीलाई पक्राउ गरेको जनाएको छ।
हिजो बिहान ११ बजे नियमित परीक्षणका लागि अस्पताल पुगेकी काभ्रे चौरी देउराली घर भकी २२ वर्षीया सबिना श्रेष्ठले आफ्नो बच्चा अपरिचित महिलालाई बोक्न दिएकी थिइन् । तर, आफ्नो बच्चासहित ती महिला अस्पतालबाट गायब भएपछि अनुसन्धानका लागि सविनाले प्रहरीमा खबर गरेकी थिइन् । सीसीटीभीको आधारमा बच्चालाई उद्धार गरी अभिभावकको साथमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।