काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै लामिछानेले भने– ‘मलाई पनि एउटा पिएसओ मात्र दिए पुग्छ, भीआईपी संस्कार अन्त्य गर्नुपर्छ ।’
प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने मन्त्री लामिछानेले उद्घोष गरेका छन् । वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको उल्लेख गर्दै उनले भने– ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु ।’उनले भने– ‘मेरोमा सोर्स फोर्स लाउन आउनेका लागि ढोका बन्द हुन्छ ।’
आफू पैसा खानका लागि मन्त्री नभएको उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘आइजिपी साव’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म बाट कुनै हस्तक्षेप हुँदैन ।’ सरकारको आयुसँग आफूलाई मतलब नभएको लामिछानेले बताएका छन् । कानुन संशोधन गरेर प्रहरी समायोजन गर्ने उल्लेख गर्दै लामिछानेले जवान, हवल्दार र जुनियर प्रहरी अधिकृतहरूका लागि १६ वर्षे र १८ वर्षे पेन्सन अवधि लागू गर्न आफू दृढ रहेको बताए । उनले भने– ‘१६ र १८ वर्षमा पेन्सन पाउने व्यवस्था हुन्छ, त्यो मेरो लक्ष्य हो ।’


















