
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार र आईतबार दुई दिनसम्म हुनेछ ।
श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा.हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा शुरुवात गराएका हुन् ।
लुम्बिनीबाट शुरु भएको धम्मयात्रा शनिबार भैरहवामा र आईतबार नवलपरासीको रामग्राममा गरिनेछ । लुम्बिनीमा धार्मिक गतिविधि बढ्दो बुद्धशिक्षालाई प्रवर्छन गर्ने कोषका कोषाध्यक्ष भट्टराईले बताएका छन् । अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ ।
सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । लुम्बिनीमा भएको १२५० जनाको प्रवज्याले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताईन ।
फागुन १६ गतेदेखि शुरु भएको प्रवज्या चैत ८ गते सकिनेछ ।

