
सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका(९, नयाँ रोडमा मंगलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्। मङ्गलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका २५।२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको र अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको सर्लाही प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिएका छन् ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी थारुले बताएका छन् ।

