बन्दीपुर चिनियाँ पर्यटकको रोजाइमा

[sharethis-inline-buttons]

बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिएका छन् ।

उनले भने, “हप्ताको दुई।तीन दिन चिनियाँ पर्यटक करिब पाँच।छ सयका दरले आउने गरेका छन्”,“जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।”

कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले व्यवसायी उत्साहित भएर लागेको उनले बताए । त्यसैगरी साहसिक खेल प्याराग्लाइडिङले बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढाएको छ ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको भञ्ज्याङ चौताराबाट उडान सुरु भई करिब १०० मिटरसम्मको उचाइमा मुकुन्देश्वरी डाँडा छेउ हुँदै मनोरञ्जन लिन सकिनेछ । विगत ५ वर्षदेखि यो प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ ।

ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरी मनोरञ्जन प्रदान गर्दै आएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिएका छन् । प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाख महिना उत्तम मौसम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको हो ।

उक्त स्थानबाट ३०।४० जनासम्म उड्नसक्ने क्षमताको रहेको छ । उड्नुअघि गाउँपालिकाबाट अनुमति लिनुका साथै प्रतिव्यक्ति एक हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उनले बताए ।

केही दिनअघि प्याराग्लाइडिङको अनुभव लिएका बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले बन्दीपुरलाई साहसिक गन्तव्यस्थल बनाउन पर्याप्त सम्भावना रहेको बताए । गाउँपालिकाले मात्रै बजेट व्यवस्थापन गरेर नपुग्ने भएकाले पर्यटन प्रवद्र्धनका लागि प्रदेश तथा सङ्घीय सरकारमा बजेट व्यवस्थापनका लागि आग्रह गरिएको उनले बताए ।


प्रकाशित : २०८० चैत्र १५, बिहीबार ११:४७