बुटवल। राइड सेयरिङ व्यवसायमा परिचित कम्पनी पठाओले लुम्बिनी प्रदेशका मुख्य सहरहरू बुटवल, नेपालगञ्ज र भैरहवामा सेवा बिस्तार गर्न लागेको छ । पठाओले लुम्बिनीका तीनसहित मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्न लागेको हो ।
मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिएका छन् ।
सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ ।
मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध कम्पनीले जनाएको छ । कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ ।
सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्छन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ ।
एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन ९ट्याक्सी चालक० र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् ।