भारत सरकारले नेपाललाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले आज एक कार्यक्रमको आयोजना गरी नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूलाई एम्बुलेन्स र बस प्रदान गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स र बसको चाबी हस्तान्तरण गरेका हुन् । सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवं गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।
यस्तै, नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल–भारत विकास साझेदारी कार्यक्रम थप प्रभावकारी बनाउने बताएका छन् । यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको उनको भनाइ थियो ।
सन् १९९४ यता भारत सरकारले आजको सहित हालसम्म नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ ।