खोटाङ । खोटाङमा छुरा प्रहार गरी छिमेकीको हत्या गर्ने ३ युवा पक्राउ परेका छन् । बैसाख १ गते साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३० वर्षीय धनजीत राईलाई छुरा प्रहार गरी हत्या गरेर फरार भएका सोही ठाउँका प्रतिवादी २२ वर्षीय बिकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई पक्राउ परेका छन् ।
धनजितलाई छुरा प्रहार गरी फरार भएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको प्रहरीको टोलीले सोमबार रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको भसुन्डास्थित धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्धाका प्रतिबादीलाई पक्राउ गरेर थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताएका छन् । शरीरका विभिन्न भागमा चोट लागेका धनजितको घट्नास्थलमै मृत्यु भएको थियो ।
उनलाई मादक पदार्थ सेवन गरेका ३ युवाले स्थानीय तिलकबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरेका थिए । सुरुमा स्थानीय भीमबहादुर बस्नेत र ३ प्रतिवादीबिच झगडा भएको थियो । तीन प्रतिवादीले भीमबहादुरलाई घरैमा गएर कुटपिट गरेका थिए तर गाउँले भेला भएर झगडा मिलाएका थिए । केही समयपछि पुःन भीमबहादुरले ‘धम्की’ दिएपछि उनीहरु पुःन भीमबहादुरको घरमा झगडा गर्न पुगेका थिए ।
त्यसको केही समयपछि भीमबहादुरको घर पुगेका धनजितले सम्झाउने क्रममा तीन प्रतिवादीले छुरा प्रहार गरेको स्थानीय उमेश राईले बताएका छन् ।