रुपन्देहीको तिलोत्तमामा गत मङ्सिर २६ गते देखि शुरु भएको श्रीमदभागवत एवं श्रृंगारिक महाआरती २०८१ सम्पन्न भएको छ।
श्रीमदभागवत एवं श्रृंगारिक महाआरती २०८१ मा आर्थिक, भौतिक, तथा जिन्सी सहयोग गर्ने दानदाताहरुलाई सम्मान गरिएको छ। गरिमा टोल बिकास संस्था, तिलोत्तमा १० बेवराको आयोजनामा भएको महाआरती समापन तिलोत्तमा नगरपालिकाका उप्रमुख जागेश्वर देवी चौधरीले गर्नु भयो। कार्यक्रमको समापन गर्दै उप प्रमुख चौधरीले कुनै पनि सामाजिक कार्यका लागि गरिने दान तथा सहयोग बिभिन्न धामको परिक्रमा गरि पुजा आरधाना गर्नुजत्तिकै पुण्य कार्य हुने बिचार व्यक्त गर्नु भयो। कुनैपनि कार्यगर्दा सामुहिकतामा गरिने हरेक कार्यहरु सदैव सफल हुने बिचार व्यक्त गर्दै सामाजिक एकता र सदभाव कायम गर्न समुदायमा गरिने सामुहिक नेतृत्व र कार्यलाई निरन्तरता दिनुको बिकल्प नभएको बिचार समेत उपप्रमुख चौधरीले जोड दिनु भएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले आफ्नो टोल र समाजलाई सभ्य बनाउन गरिमा टोल बिकासबाट संचालन हुदै आइरहेका हरेक कार्यक्रमहरुबाट अन्य टोल बिकास संस्थाहरुले पनि सिको गर्नु पर्नेमा जोड दिनु भएको थियो। प्रमुख कथा वाचक आदीयोगी गौतम स्वामी जिले कथा वाचन गर्नु भएको श्रीमदभागवत एवं श्रृंगारिक महाआरती २०८१को समापन कार्यक्रममा सग्रहवा टोल बिकास संस्थाका अध्यक्ष चन्दन चौधरी, श्रृजनशिल आमा समूहका अध्यक्ष सीता न्यौपाने, समाजसेवी सियाराम यादव लगायतले गरिमा टोललाई हरेक पक्षबाट पृथक र सभ्य बनाउदै वडा र नगरकै नमुना टोलको रुपमा बिकास गर्न गरिमा टोलका सबै एक भएर सामाजिक एकता, सदभाव र सहकार्यको बिकास गर्नु पर्नेमा जोड दिएका थिए।
गरिमा टोल बिकास संस्थाका अध्यक्ष राजेश यादवको अध्यक्षता तथा श्रीमदभागवत एवं श्रृंगारिक महाआरती २०८१ का संयोजक ज्योति यादवको स्वागतमा सम्पन्न भएको कार्यक्रमको संचालन राज चौधरीले गर्नु भएको थियो।





















