
कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा व्यावसायिक रूपमा कृषि कर्म गर्ने उत्कृष्ट कृषकहरू सम्मान गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत “कृषक सम्मान” कार्यक्रम अन्तर्गत चार वटा विधाबाट एक एक जना गरी चार जनालाई नगद राशि सहित सम्मान गरिएको हो । यसरी सम्मानित हुने उत्कृष्ट कृषकहरूमा तरकारी विधाबाट रेसुङ्गा नगरपालिका –६ सिमाहाघाट स्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्की एवं फलफूल विधाबाट धुर्कोट गाउँपालिका –२ पिपलधारा स्थित मौरी तथा सुन्तला फर्मकी सञ्चालक रातादेवी खनाल रहेका छन् । त्यसै गरी च्याउ विधाबाट छत्रकोट गाउँपालिका –४ रुक्से स्थित द–हिमालयन एग्रोफर्म नेपालका सञ्चालक कृष्णप्रसाद कँडेल र मौरी विधाबाट रेसुङ्गा नगरपालिका –८ स्थित रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरी पालन फर्मका सञ्चालक विष्णुमाया श्रीस रहेकी छन् ।
मौरी विधाबाट सम्मानित हुने विष्णुमायाले मौरी गोला र घार बिक्रीबाट वािर्षक ५ लाख बराबरको कारोवार गर्दै आएको बताएकी छन् भने तरकारी बिधाबाट उत्कृष्ट हुने रेणु सार्कीले आफूले वार्षिक रूपमा २५ देखि ३० लाखसम्मको कारोवार गर्दै आएको बताएकी छन् । त्यसै गरी फलफूल विधाबाट सम्मानित हुने तारादेवी खनालले २९ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेर वार्षिक १४ देखि १५ लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको बताएकी छन् भने च्याउ विधाबाट सम्मानित हुने कृष्णप्रसाद कँडेलले वार्षिक १२ देखि १४ लाखसम्मको कारोबार गर्ने गरेको बताए ।
कार्यालयले रेसुङ्गा नगरपालिका –६ सिमाहाघाट स्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्कीलाई यस वर्षको सर्वोकृष्ट कृषकको रूपमा नगद रु दश हजार रुपैयाँ सहित सम्मान गरेको थियो भने अन्य कृषकहरूलाई पाँचरपाँच हजार रुपैयाँ सहित सम्मान गरेको थियो । कृषक सम्मानका लागि कृषि ज्ञान केन्द्र गुल्मीले गत पुस महिनामा पन्ध्र दिने सूचना प्रकाशित गरी कृषकहरूबाट निवेदन आव्हान गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए । उक्त सम्मानका लागि कार्यालयमा १६ जना कृषकहरूले निवेदन पेस गरेका थिए । छनौट प्रक्रियाका लागि कार्यालयको तर्फबाट तीन जनाको मूल्याङ्कन समिति गठन गरी सम्बन्धित पालिकाका कृषि शाखा प्रमुख वा प्रतिनिधिहरूको रोहवरमा उत्कृष्ट कृषकहरूको छनोट गरिएको बताइएको छ ।
छनौट प्रक्रिया अन्तर्गत गरिएका मूल्याङ्कनका मुख्य आधारहरूमा समावेशी, आबद्धता समय, उत्पादन हुने क्षेत्रफल, फर्म दर्ता, उन्नत प्रविधि, समूहमा आबद्धता, कृषि यान्त्रिकीकरणको प्रयोग, तालिम, स्थलगत अनुगमन लगायतका सूचकहरू रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले जानकारी दिएका छन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका प्रमुख रमेश जैसवालले सम्मानित हुने कृषकहरू बधाई दिँदै कृषकहरूलाई आगामी दिनमा अझ थप क्रियाशील बनी अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।गुल्मी जिल्लामा हाल व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरू एक सय ४५, सुन्तला खेती गर्नेहरू एक सय ९७ जना, मौरी पालन गर्नेहरू २५ र च्याउ खेती गर्नेहरू १२ जना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । रासस