रुपन्देही तिलोत्तमा नगरपालिका–३ को डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा १७ वर्षसम्म एकै व्यक्ति प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा १० लाई लत्याएर एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्थालाई कुल्चिदै अध्यक्ष बनेका घनश्याम तिवारीलयायत पदाधिकारीले १५ करोडभन्दा सहकारीको रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरु अताल्लिन थालेका छन् ।
प्रदेश ऐन बन्नुभन्दा अघि नै सहकारीको नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानून विपरीत हुने व्यवस्था थियो । घनश्याम तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर १७ वर्षदेखि अध्यक्ष रजगज गर्दै आएको तथा सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुलीले नागरिकको ठूलो धनराशी अपचलन गरेको पाइएपछि अहिले उनीहरु फरार भएका छन् । सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले एक सातादेखि उनीहरु फरार रहेको बताए ।
यसैबीच बिहीबार राति सहकारीका बचतकर्ताहरुले अध्यक्ष तिवारी, सचिव थापा लगायतको घर अगाडि प्रर्दशन गर्दै नागरिकको पैसा खानेलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
सचिव थापा घरमै भएको शंकामा घर घेराउ गर्न गएका बचतकर्ताहरु आएको सुइँको पाएपछि घर पछाडिबाट भागेको हुनसक्ने भन्दै बचतकर्ताहरुले राज्यले वास्तविक सहकारी लुट्नेहरुलाई कानूनी कट्घरामा ल्याउन नसकेको गुनासो गरेका थिए ।
बचतकर्ता मीना न्यौपाने भट्टराईले वैदेशिक रोजगारीमा गएका श्रीमानले पठाएको पैसा मासिक एक हजार रुपैयाँ जम्मा गरेको बताउँदै सहकारीमा रकम हिनामिना भएको सुइँको पाएपछि आफूहरुले अध्यक्ष र सचिवलाई भन्दा उनीहरुले त्यस्तो केही भएको छैन भन्दै ढाँटेको बताइन् ।
सहकारीबाट पीडित बनेका अर्का बचतकर्ता ज्ञानेन्द्र बञ्जाडेले सञ्चालकले नै नागरिकको पैसा अपचलन गरेको, म्याइन्युटलगायत महत्वपूर्ण कागजात च्यातेर भागेकाले अभियुक्तहरुलाई कारबाहीको माग गरे ।
पीडित कमला बस्यालले सहकारीको स्थापनाकालदेखि बचत गर्दै आएको भन्दै आफ्नो १४ लाख रुपैयाँ बचत गरेको रकम डुबेको बताइन् । बचतकर्ता लक्ष्मी पराजुलीले आफूले सहकारीबाट पाँच लाख रुपैयाँ ऋण लिएकोमा आफ्नै अंकल पर्ने सहकारीका व्यवस्थापक बसन्त पराजुलीले ८५ लाखको ऋणी बनाइदिएर थप पीडित बनाएको दुस्खेसो पोख्दै पाँच लाखको ब्याज र साँवाको किस्ता नियमित तिर्दै आएको बताइन् ।
प्रहरीसँगै सचिव थापाको घर राति साढे ११ बजे खानतलासी गर्न पुगेका सहकारी पीडित टेकराज पन्थीले सहकारीको रकम हिनामिना गरेर फरार रहेका थापाकी श्रीमती र चार जना अपरिचित व्यक्तिहरुलाई मदिरा सहितको डिनर पार्टी गर्दै गरेको अवस्थामा फेला पारेपछि सचिव थापा पनि भएको तर पछि उनी भागेको हुन सक्ने शंका गर्दै चार जनालाई इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाइएको बताए ।
मुद्दाफाँटका प्रहरी निरीक्षक धर्मराज खत्रीले उनीहरुलाई सुरक्षा चुनौती हुने देखेर ल्याएको, केरकार गरिएको र सहकारीसँग सम्बन्धित नभएकाले शुक्रबार साँझसम्म आफन्तको जिम्मामा छाडिने बताएका छन् ।
१३ सदस्यीय सञ्चालक समितिमा तीन जना बाहेक सबै नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता भएको शेयर सदस्य माधव पौडेले बताए ।सहकारीमा बद्मासी भएको संकेत पाएपछि झन्डै चार सय सदस्यले बचत फिर्ताका लागि सहकारीमा निवेदन दिएको र निवेदनपछि सहकारी सञ्चालक समिति तथा सहकारीका केही सदस्य बसेर १९ असारदेखि सर्वसाधारणको बचत फिर्ता गर्ने सहमति अनुसार निर्णय भयो तर सहकारीका अध्यक्ष र सचिवले अर्को दिन उक्त सहमतिको माइन्युट नै च्यातेर फरार भएका छन् ।
सहकारीको रकम अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुलीले होटल, घडेरी र चुनढुंगा खानीमा लगानी गरेको पाइएको छ । उनले तिलोत्तमाको जानकी नगरमा होटल एचके र योगिकुटीदेखि शान्ति चोक जाने बाटोमा घर खरिद गरेको पाइएको छ ।
अध्यक्ष तिवारीले संस्थाको करिब ८ करोड, सचिव थापाले ४ करोड र व्यवस्थापक पराजुलीले ३ करोभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले लेखापरीक्षकले दिने अन्तिम रिपोर्टपछि मात्रै कति हिनामिना भएको हो भन्ने पुष्टि हुने बताए ।
सहकारीका व्यवस्थापक, अध्यक्ष र सचिवले सहकारीको सफ्ट्वेयरमा नै मिलाएर आफूखुसी बचतकर्ताको रकम दुरुपयोग गरेको पीडितहरुको भनाइ छ ।
ऋण नै नलगेका बचतकर्ताको नाममा ऋण प्रवाह गर्ने गरेको र कम रकम ऋण लागेका ऋणीका नाममा थप ऋण लगेको देखाइएको छ । आफूले दुई वटा चेकमा हस्ताक्षर गरेर काटेका चेकको रकम कसलाई दिएको हो भनेर सोधखोज गर्दा एउटा चेकको रकम सम्बन्धित व्यक्तिलाई नदिइएको पाइएपछि सहकारीमा बेथिति भएको २०८२ वैशाख २७ गते खुलेको कोषाध्यक्ष बज्राचार्यले बताए ।
समितिले व्यवस्थापक वसन्त पराजुलीले रकम हिनामिना गरेको भनेर ८ करोड ५० लाखको कागज बनाएर यसअघि नै निलम्बन गरिएको पाइएको छ । २०५० सालमा स्थापना भएको सहकारीमा करिब २ हजार सदस्यहरु रहेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले आफू धेरै बोल्न नजान्ने भन्दै बोल्न चाहेनन् । सचिव थापाको घर अनुगमन र खानतलासी गर्दा सहकारी पीडित र प्रहरी छिर्दा पत्रकारलाई रोक लगाएर माथिको आदेश छ भन्दै पत्रकारलाई भित्र छिर्न दिइएन ।
उनले आफूले केही बोल्न नमिल्ने यदि केही जानकारी लिने भए जिल्लास्थित सुचना अधिकारीलाई सोध्न जवाफ दिए । प्रहरीसमक्ष हालसम्म पूरक निवेदनसमेत नपरेको प्रहरीले बताएको छ ।
तिलोत्तमा नगरपालिका वडा न(३ का वडाध्यक्ष कल्याण पौडेललाई सम्पर्क गर्दा शुरुमा पहिले आफू धेरै टाढा रहेको र तत्काल आउन नसक्ने बताएका उनी बचतकर्ता मध्येका एक व्यक्तिले फोन गरेपछि दश मिनेटमा फरार रामबहादुरको घरमा आइपुगेका थिए । उनलाई प्रतिक्रिया लिन खोज्दा नदिएर तर्किए ।
लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्यले भने, ुउक्त सहकारी पाँच(छ जना आएर सहरकारी रकम अपचलन भएको छ भनेर हाम्रो कार्यालयमा निवेदन दिएपछि हामी सहकारीको कार्यालयमा पुगेर पहिले अडिट गर्नुपर्यो कसले कति रकम उपचलन गरेको रहेछ भन्ने हिसाब खुलाउनुपर्यो त्यसपछि अध्ययन अनुसन्धान अघि बढ्छ भनेर हामी फर्केका हौँ । हामीले अडिट नहुँदासम्म केही गर्न मिल्दैन, अडिट रिपोर्ट आएपछि अनुसन्धान अगाडि बढ्ने छौँ । रासस





















