तिलोत्तमा । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ तिलोत्तमा नगर समितिको रजत जयन्ती आज एक भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा श्रमिकका अधिकार, राज्यको जिम्मेवारी तथा श्रमिक आन्दोलनको वर्तमान अवस्था र भविष्यका रणनीतिहरू विषयमा विस्तृत रुपमा छलफल गरिएको थियो।
संघका अध्यक्ष सहसराम थारुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष प्रदीप आचार्य प्रमुख अतिथि रहनुहुन्थ्यो। उहाँले आफ्नो सम्बोधनमा श्रमिक वर्गले देशको निर्माण र विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै श्रमिकको सम्मान, सुरक्षाको सुनिश्चितता र न्यूनतम पारिश्रमिकको कार्यान्वयनमा राज्यले गम्भीरता देखाउनुपर्नेमा जोड दिनुभयो।
वक्ताहरुले श्रमिकका अधिकारलाई केवल कानुनी दस्तावेजमा मात्र सीमित नराखी व्यवहारिक जीवनमा कार्यान्वयन गर्न आवश्यक कानुनी, संस्थागत र नीतिगत सुधारको आवश्यकता औंल्याए। साथै, संघको स्थापना कालदेखि हालसम्मका संघर्ष, उपलब्धि र चुनौतीबारे पनि समीक्षा गरिएको थियो।
कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक तथा श्रमिक संगठनका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रह्यो। सहभागीहरूले संघले विगत २५ वर्षमा गरेको योगदानको सराहना गर्दै भविष्यमा श्रमिक अधिकारको रक्षा र विस्तारका लागि अझ सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
रजत जयन्तीको अवसरमा संघको ऐतिहासिक यात्रा, उपलब्धि र भावी योजनाबारे वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय तथा प्रदेशस्तरीय नेताहरू, श्रमिक प्रतिनिधि, सञ्चारकर्मी र अन्य अतिथिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संघका सचिव देव बहादुर थापाले गर्नुभएको थियो।




















