जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मा रहेको नेपाल किसान ट्रयाक्टर समितिले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ७० युनिट रगत संकलन गरेको छ। स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा समितिका सदस्य, सुरक्षाकर्मी तथा स्थानीयवासीले उत्साहपूर्वक रक्तदान गरेका हुन्।
समितिका अध्यक्ष झविन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुकी प्रहरी निरीक्षक कालिका कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन टंक पाण्डेले गरेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले रक्तदानलाई महत्वपूर्ण मानवीय सेवाका रूपमा लिनुपर्ने बताए। उनले वाणगंगा नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै रक्त आवश्यक पर्ने अवस्थामा सहजीकरण गर्दै आएको जानकारी दिए। वाणगंगा नगरपालिकाका नागरिक भएको परिचय खुल्ने आवश्यक कागजातका आधारमा नगरवासीले निःशुल्क रूपमा रगत प्राप्त गर्न सक्ने व्यवस्था रहेको उनले बताए।
नगर प्रमुख अर्यालले रक्तदानबाट संकलित रगतले आकस्मिक अवस्थामा बिरामी तथा घाइतेको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सामाजिक संस्थाहरूले यस्ता मानवीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
यसैबीच, इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा हालै जिम्मेवारी सम्हाल्न पुगेकी प्रहरी निरीक्षक कालिका कार्कीलाई नेपाल किसान ट्रयाक्टर समितिका पदाधिकारी तथा सदस्यहरूले संयुक्त रूपमा स्वागत तथा सम्मान गरेका थिए। समितिले नयाँ प्रहरी नेतृत्वसँग सहकार्य गर्दै शान्ति सुरक्षा तथा सामाजिक गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।




















