लुदअ, कपिलवस्तु
नीजि विद्यालयहरुको छाता संगठन नेशनल प्याव्सन नेपालको ७ औं राष्ट्रिय महाधिबेशनबाट निर्वाचित समितिको पहिलो बैठक तिलोत्तमा सम्पन्न भएको छ । बैठकले संस्थालाई क्रियाशिल र गतिशिल बनाउन विभिन्न समिति गठन देखि विभागहरु निर्माण गरेको छ । बैठकले आर्थिक विभाग, संगठन निर्माण विभाग, परिक्षा तालिम विभाग, शैक्षिक व्यवस्थापन विभाग, अन्तराष्ट्रिय विभाग गठन गरेको छ । बैठक पछि पत्रकारलाई जानाकारी दिदै एनप्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डप हमालले कोभिडको समयमा राज्यबाट आफुहरुले अभिभावकत्व नपाएको बताउनुभयो ।
सरकारले ३ बर्ष सम्म विद्यालय ठप्प हुंदा अनलाईनबाट शिक्षा प्रदान गर्ने काम गरेपनि निजी संस्थाको भुमिका बारे सरकार बेखवर बनेको उहांले बताउनुभयो । समृद्ध र सवल युवालाई स्वारोजगार बनाउने दायित्व निजी विद्यालयको दायित्व भएको भन्दै उहांले आफुहरुले दायित्व सम्झने तर सरकारले दायित्व भुल्दै गएको बताउनुभयो । त्यस्तै बैठकले शिक्षामा सरकारको विभेदकारी नितीको भर्सना समेत गरेको छ । एनप्याव्सनका सह अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयलाई संस्थागत र सरकारी विद्यालयलाई सामुदायिक भन्ने गरिएकोमा अब यसको परिभाषा समेत बदल्नुपर्ने बताउनुभयो ।
समुदायका बालबालिकाहरुलाई आफुहरुले पढाउने भएकाले आफुहरु सामुदायिक विद्यालय भएको र सरकारी लगानीबाट बनेका विद्यालय सरकारी विद्यालय हुनुपर्ने उहांको भनाई छ । समुदायको विश्वास आफुहरुले जितेकै कारण निजी शैक्षिक संस्था सामुदायिक भएको तर्क उहांको भनाई थियो । बैठकले सामुदायिक र संस्थागत विद्यालयका अध्यायन गर्ने विद्यार्थीलाई दिईने छात्रबृत्तिको विभेदलाई अन्त्य गर्न प्रभावकारी कदम चाल्ने निर्णय पनि गरेको छ ।
यता एनप्याव्सन रुपन्देहीले नवनिर्वाचित केन्द्रीय समितिलाई सम्मान समेत गरेको छ । एनप्याव्सन रुपन्देही जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षता र केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रकाशित : २०७८ चैत्र २५, शुक्रबार १४:४२

















