भैरहवा, ११ असार ।रुपन्देहीमा आज देखि बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइँदै छ ।यो खोप ५ वर्षदेखि ११ वर्षसम्म बालबालिकाहरुलाई लगाइनेछ । यो खोप प्रथम चरणमा जिल्लाका १६ पालिकामध्ये लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकामा असार ११ गतेदेखि १४ गतेसम्म र दोस्रो चरणमा असार १५ देखि १८ गतेसम्म बाँकी ११ वटा पालिकामा लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान एक स्थानीय तहमा एकै चरणमा सम्पन्न गरिनेछ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा लक्षित जनसंख्या ५ वर्षदेखि ११ वर्ष उमेरका १ लाख ३१ हजार ५ सय ५७ जनालाई फाइजर खोप लगाइनेछ । शर्माले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको तथ्यांक लिइसकेको र सबैको सहयोगले पूर्ण खोप लगाएर रुपन्देहीलाई नमूना जिल्ला बनाउने बताए । उनले अन्य नियमित कार्यक्रम बन्द नहुने गरी खोप लगाउने व्यवस्था मिलाइएको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन कार्यनीति अन्तर्गत १२ वर्ष वा सो भन्दा माथिका नागरिकहरुलाई पहिलो श्रृंखलाको छुट खोप र १८ वर्ष माथिका नागरिकहरुलाई बुस्टर मात्रा प्रदान गरिनेछ । त्यस्तै ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुको लागि पहिलो श्रृंखलाको दुई मात्रा खोप प्रदान गरिनेछ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले कोरोनाविरुद्धको अन्य खोप भन्दा फाइजर खोप राम्रो र प्रभावकारी भएको बताए । उनले खोप अभियान सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।



















